महिला र बालबालिकाको लागि मोनाद्धारा रु १ करोडको अक्षयकोष

  • १६ पुष २०७५, सोमबार
  • 2065 पटक पढिएको

बेनी, १६ पुस । प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले महिला र बालबालिकाको क्षेत्रमा परिचालन गर्ने गरि रु १ करोडको अक्षयकोष स्थापना गरेको छ । जिल्लामा महिला तथा बालबालिकाहरुको हितमा उपयोग गर्ने गरि घोषणा गरिएको अक्षयकोषमा अहिलेसम्म करिब ९० लाख संकलन भैसकेको मोना अन्र्तराष्ट्रियका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिनुभयो ।

दरबाङमा सम्पन्न भएको मोनाको सम्मेलनमा रु २५ लाख बोल रकम संकलन भएको थियो । विभिन्न मुलुकमा रहेका म्याग्देलीहरु मार्फत कोषमा रकम संकलन गर्ने कामले तिब्रता पाएको अध्यक्ष थापाले बताउनुभयो । ‘‘ हामीले एक करोडको लक्ष्य राखेका थियौँ, अब छिट्टै त्यो लक्ष्य पुरा हुने देखिएको छ, हामीले कोषको रकमलाई बृद्धि गर्ने र परिचालनको दायरालाई समेत थप व्यवस्थिति र फराकिलो बनाउने योजना बनाएका छौँ’’– अध्यक्ष थापाले भन्नुभयो ।

गत कार्तिक पहिलो हप्ता पोर्चुगलमा भएको साधारणसभाले अक्षयकोषका लागि आर्थिक संकलन अभियानलाई तिब्रता दिन विभिन्न देशमा अभियान चलाउने निर्णय गरेको थियो । सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र मानव विकासका लागि प्रमुख समस्या मानिएको बालबिवाह र महिला हिंसाको समस्या न्युनीकरणका लागि परिचालन गर्ने गरी अक्षयकोष निर्माण गर्न लागिएको मोनाले जनाएको छ ।

कोषको व्याज रकमबाट हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई राहत तथा उनीहरुको अधिकारको पक्षमा समेत परिचालन गरिनेछ । आर्थिक रुपमा पछाडी परेका महिलाहरुलाई शिपमुलक तालिम मार्फत आयआर्जन बृद्धि गराउन कोषलाई परिचालन गर्ने गरि कार्यविधि तयार गरिने जनाउँदै अध्यक्ष थापाले शिपमुलक तालिम दिएर व्यवसायिक बन्ने महिलाहरुले उत्पादन गर्ने बस्तु तथा सामाग्रीको बजारीकरणमा समेत मोनाले सहजीकरण गर्ने बताउनुभयो ।

कोषलाई व्यवस्थित बनाउनको लागि कार्य बिधि तयार गरि कार्य समितिलाई प्रस्ताब पेस गर्न योगेन्द्र क्षेत्री ,लोक राना ,चक्र थापा ,योग कुमार फगामी र मुक्ति रोका सदस्य रहेको समिति गठन गरिएको छ । त्यस्तै आर्थिक संकलनको लागि आसा पाईजाको संयोजकत्वमा हरि राम्जाली, किसन जिसी सहित मोना विस्तार भएका सबै मुलुकका अध्यक्षहरु सम्मीलित समिति समेत गठन भएको छ ।

रोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न २५ देशमा पुगेका म्याग्देलीहरु मोना मार्फत संगठीत भएका छन् । उनीहरुले जिल्लाको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक र विकास निर्माणको क्षेत्रमा समेत आर्थिक सहयोग गर्दै आएका छन् ।