अन्नपूर्णमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

  • १५ पुष २०७५, आईतवार
  • 1697 पटक पढिएको

 

बेनी १५ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गरेको छ ।पुष २४ देखि २७ गतेसम्म दानाको ज्ञानप्रकाश माविमा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिनुभयो ।

विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि उनिहरुलाई जिल्ला, प्रदेश हुदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म अवसर दिलाउने उद्देश्यले खेलकुद मन्त्रालय र खेलकुद परिषद्सँगको समन्वयमा प्रतियोगिता सञ्चालन गर्न लागिएको वडा न. २ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष समेत रहनुभएका फगामीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन संरक्षक, प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेल सल्लाहकार र फगामी संयोजक, सबै माविका प्रअ, युवा तथा खेलकुद विकास समितिका पदाधीकारी सदस्य रहेको समिति गठन गरेर तयारीलाई तिब्र बनाइएको छ ।

प्रतियोेगितामा छात्र÷छात्रा भलिबल, कवड्डी, एथलेटिक्स बिधाका खेल सञ्चालन गरिने भएको छ । अन्नपूर्ण गाउँपालिकाकामा रहेका १० वटा माध्यमिक विद्यालयले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा बिजेताले रनिङ्ग कप, मेडल र प्रमाणपत्र सहित ५० हजार रुपैयाँ नगद, उपबिजेताले २५ हजार रुपैयाँ र तितृयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयले पाँच लाख रुपैयाँ बजेट पठाएको छ भने गाउँपालिकाले एक लाख रुपैयाँ बिनियोजन गरेको जनाएको छ ।