रुमका साढे दुई सय जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण

  • १४ पुष २०७५, शनिबार
  • 2063 पटक पढिएको

बेनी १४ पुष । म्याग्दीको मालिका गाउँपालिकाले शनिबार वडा न. २ रुममा आयोजना गरेको घुम्ती शिविर मार्फत २५१ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप पाँच जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष बिटालु, प्रमुख प्रशासकीय अधिकृत वुद्धीराम शर्मा, वडा अध्यक्ष नरबहादुर पुन, स्वास्थ्य शाखाका प्रमुख राजेश थापाको टोलीले सेवा दिनुभएको थियो । परिचयपत्रको आधारमा ६० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरुले स्वास्थ्य उपचार, यातायात लगायत सेवामा छुट सुबिधा पाउने व्यवस्था छ । टोलीले १२८ जनालाई स्वास्थ्य सेवा र २८ जना पशुपालक कृषकहरुलाई परामर्श तथा औषधी वितरण सेवा दिएको जनाएको छ ।

अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र कार्यबिधी बनाएर उपाध्यक्ष बिटालुको संयोजकत्वमा अपाङ्गता समन्वय समिति गठन गरिसकेको मालिकाले यसअघि वडा न. १ निस्कोट र ४ न. वडा ओखरबोटमा परिचयपत्र वितरण गरिसकेको छ ।

७ वटै वडामा सञ्चालन गरिने शिविर मार्फत परिचयपत्र वितरणसँगै स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सेवा उपलब्ध गराउने मालिका गाउँपालिकाले जनाएको छ ।