निस्कोटबासीको नमुना कामः श्रमदानबाट पदमार्ग निर्माण गरि,योजनाको रकम विद्यालयलाई सहयोग

  • २८ चैत्र २०७३, सोमबार
  • 2337 पटक पढिएको

म्याग्दी, २८ चैत । सरकारी तवरबाट विनीयोजन हुने बजेट काम नै नगरि सक्ने प्रवृति मौलाईरहेको सन्दर्भमा म्याग्दीको एक गाउँका स्थानीयले भने उदाहरणीय कार्य गरेका छन् । जिल्लाको मालिका गाउँपालिका–१ निस्कोट गाउँका स्थानीयले  सरकारी बजेटको योजना श्रमदान मार्फत सम्पन्न गरि उक्त योजनाको रकम विद्यालयलाई सहयोग गरेका हुन् । चालु आर्थिक बर्षमा तत्कालिन निस्कोट गाविसले निस्कोटको पर्यटकीय स्थल बराहतालदेखि देउराली सम्मको गोरेटोबाटोमा पदमार्ग निर्माणको लागि रु १ लाख ३९ हजार ३ सय विनियोजन गरेको थियो ।

गाविसले पदमार्ग निर्माण योजनामा विनियोजन गरेको बजेटलाई स्थानीय सामुदायिक विद्यालय सञ्चालनार्थ सहयोग गर्ने उदेश्यले सामुहिक श्रमदानबाट पदमार्ग बनाएको सामाजिक परिचालक भबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार, गाविसका ४०० घरधुरीबाट श्रमदान गरि गाविसले बजेट विनियोजन गरेको बराहतालदेखि देउरालीसम्मको करिब ३ किलोमिटर पदमार्ग तयार गरिएको छ । जंगलको झाँडी सफा गर्दै पुरानो गोरेटो बाटोमा सिँढी चिनेर पदमार्ग बनाईएको पुनले बताउनुभयो ।
स्थानीयले डेढ मिटर चौडाईमा ढुंगाले सिढी चिनेर पदमार्ग बनाएका छन् भने कतिपय ठाउँमा साँघुरो बाटोलाई फराकिलो बनाईएको छ । मालिका गाउँपालिका –१ निस्कोटका वडा सचिब छबिलाल उपाध्यायले गाविसबाट पदमार्ग निर्माण योजनामा बजेट विनियोजन गरिएको भएपनि स्थानीयले सो योजना श्रमदान मार्फत सम्पन्न गरि उक्त रकमलाई विद्यालयमा सहयोग गर्ने सहमती गरि उदाहरणीय काम गरेको बताउनुभयो । बराह ताल हुँदै देउराली पु¥याईएको पदमार्गमा बागलुङको ताराखोला जाने बाटो जोडिएको छ । पदमार्ग निर्माण भएपछि दुबैगाउँतर्फ आवत जावत गर्ने स्थानीय र बराह तालको अबलोकनका लागि जाने पर्यटकहरुलाई सुविधा पुगेको छ ।
यता चालु आर्थिक बर्षमा नै तत्कालिन निस्कोट गाविसले निस्कोट माविमा बालमैत्री सौचालय निर्माणको लागि विनियोजन गरेको रु ७२ हजार समेत स्थानीयले श्रमदान मार्फत योजना सम्पन्न गरि सो रकम विद्यालयलाई नै उपलब्ध गराउने भएका छन् । ‘‘ पदमार्ग र बालमैत्री सौचालयको लागि गाविसले विनियोजन गरेको रकम विद्यालयलाई सहयोग स्वरुप प्राप्त हुने भएको छ, सो योजनालाई श्रमदान मार्फत सम्पन्न गरि विद्यालयलाई रकम उपलब्ध गराउने स्थानीयको काम प्रसंसनिय छ”– विद्यालयका प्रअ हरि पुनले भन्नुभयो। उहाँले निजी स्रोतबाट मावि तह सञ्चालन भएको विद्यालय चलाउनै मुस्किल भईरहेको अवस्थामा स्थानीयबासीले बर्षेनी लाखौँ रुपैयाँ विभिन्न माध्ययम मार्फत विद्यालयलाई उपलब्ध गराउँदै आएको बताउनुभयो ।
चार प्रावि, दुई राहत निमावि दरबन्दि रहेको विद्यालयमा २५१ जना विद्यार्थी अध्ययनरत रहेका छन भने निजी स्रोतका शिक्षकहरुको लागि मासिक रु ५२ हजार विद्यालयले आन्तरिक स्रोतबाट जुटाउँदै आएको छ । ‘‘ राज्यले आधारभुत तहको शिक्षालाई निशुल्क घोषणा गरेपनि के गर्ने? यहाँ अभिभावकहरुले नै पैसा नउठाए विद्यालय चल्दैन, यस अघि हामीले गाविसका सबैघरधुरीबाट मासिक रु ३०० उठाउँदै आएका थियौँ’’–विद्यालय व्यवस्थापन समितीका अध्यक्ष  दिलकुमार पुनले भन्नुभयो । विद्यालयले २०७१ देखि ०७३ पुस मसान्त सम्म गाउँ भेलाकै निर्णय अनुसार विद्यालय सञ्चालनार्थ रु प्रतिघरधुरी मासिक रु ३०० शुल्क उठाएको थियो ।

प्रतिघरधुरी पैसा उठाउँदा विपन्न बर्गका घरपरिवारलाई आर्थिक भार परेपछि यो बर्षदेखि स्थानीयले बैकल्पिक स्रोतहरुको पहिचान गरेका छन् । विद्यालयका अनुसार, यो बर्षदेखि निष्कोटमा रहेको घर छाउने ढुंगाखानीबाट बार्षिक रु ६० हजार, शिद्धथानमा पुजापाठबाट रु ६० हजार विद्यालयलाई आम्दानी हुने लक्ष्य लिईएको छ भने बार्षिक रुपमा देउसी भैलो, लाहुरे स्वागत जस्ता कार्यक्रम मार्फत निजी स्रोतका शिक्षकहरुको तलब सुविधा जुटाउने अभियान थालिएको छ ।