बेनीमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल सुरु (भिडियो सहित)

  • १४ पुष २०७५, शनिबार
  • कमल खत्री
  • 2370 पटक पढिएको

म्याग्दी, १४ पुस । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । क्याम्पसको २८ औँ बार्षिकोत्सवको अवसरमा क्याम्पसको मुल आयोजना र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा अन्तर क्याम्पस गण्डकी प्रदेश स्तरीय भबिलव प्रतियोगिता आयोजना सञ्चालन गरिएको हो ।

शनिवारदेखि सुरु भएको पुरुष भलिबल प्रतियोगितामा कक्षा ११ देखि माथिल्लो तहमा पठनपाठन हुने गण्डकी प्रदेशका विभिन्न २४ वटा क्याम्पस तथा शैक्षिक संस्थाहरुले सहभागीता जनाएको स्ववियुका कार्यबाहक सभापती इश्वर सुवेदीले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले विद्यार्थीहरुमा रहेको खेलप्रतिभाको पहिचानसंगै खेलकौसल प्रदर्शनको लागि प्रतियोगिताले रचनात्मक सहयोग पुग्ने बताए ।कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुवेदीले रेफ्री संयोजक तेजेन्द्र बानियाँलाई बल हस्तान्तरण गरि प्रतियोगिताको सुभारम्भ गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा म्याग्दी बहुमुखी वि समुहलाई पराजीत गर्दै बेनी सामुदायिक मावि दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा छात्रा भलिबल तर्फ शनिवार सम्म ८ समुहले नाम दर्ता गराएको र दर्ताको क्रम जारी रहेको क्याम्पसले जनाएको छ ।

प्रतियोगितामा बिजेता हुनेलाई छात्रतर्फ नगद रु ४० हजार र उपबिजेतालाई २५ हजार तथा छात्रातर्फ बिजेतालाई नगद रु २५ हजार र उपबिजेतालाई नगद रु १५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । त्यसैगरि सेमिफाइनलबाट बाहिरिने टिमलाई समेत छात्रतर्फ नगद रु ८ हजार र छात्रातर्फ नगद रु ५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनको लागि रु ५ लाख ४१ हजार खर्च अनुमान गरिएको छ । क्याम्पसको पौस १८ गते विविध कार्यक्रम सहित बार्षिकोत्सव मनाउने तयारी गरिएपनि मुल समारोह अघि खेलकुद प्रतियोगिताको साथै विविध आन्तरिक प्रतियोगिताहरु समेत समावेश गरिएको क्याम्पसले जनाएको छ। स्ववियूका कार्यबहाक सभापती सुवेदीको अध्यक्षता र सचिब दर्पण रोकाको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l