मराङको बेशीमा दन्त शिविर सुरु

  • ९ पुष २०७५, सोमबार
  • 2221 पटक पढिएको

बेनी ९ पुष । धवलागिरी गाउँपालिका ६ मराङको बेशीमा सोमबारदेखि निशूल्क दन्त शिविर सुरु भएको छ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले धवलागिरी गाउँपालिकासँग समन्वय गरेर आयोजना गरेको शिविरको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो ।

अध्यक्ष पुनले ग्रामिण र दुर्गम क्षेत्रमा स्वास्थ्य, शिक्षाको पहुँच विस्तारमा गाउँपालिकाले प्राथमिकता दिएको बताउनुभयो । मोनाका पूर्व अध्यक्ष योगेन्द्र क्षेत्री, अध्यक्ष चक्र थापा र एनआरएनए न्युजल्याडका अध्यक्ष कमल वाइवाले ग्रामिण क्षेत्रका बासिन्दाको सुबिधाका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने शिविरको पहिलो दिन मराङ, मल्कवाङ, बिम, ताकम र खिवाङका ९४ जनाले सेवा लिएका वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । त्रि.वि शिक्षण अस्पतालका दन्त प्राबिधिक विशेषज्ञ डाक्टर दिपकराज जोशीको नेतृत्वमा डाक्टर दृष्टिराज जोशी, श्रीया जोशी र कल्पना जोशीको टोलीले सेवा दिनुभएको छ ।

शिवरमा दन्त उपचार सम्बन्धी सेवा प्रवाह र दाँतको समस्याबाट बच्ने उपायको बारेमा सन्देश प्रवाह गराउने जनाइएको छ । ११ र १२ गते अन्नपूर्ण गाउँपालिकामा पनि शिविर सञ्चालन गरिने मोनाका अध्यक्ष चक्र थापाले जानकारी दिनुभयो । तस्बिरः राजेन्द्र पंगेनी