जलजला २ मा सम्पति तथा भुमिकर संकलन शिविर

  • ९ पुष २०७५, सोमबार
  • 1635 पटक पढिएको

 

बेनी ९ पुष । जलजला गाउँपालिका २ स्थित वडा कार्यालयमा सोमबार व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि सञ्चालित घुम्ति शिविर सुरु भएको छ । स्थानीयबासीको सुबिधाका लागि गाउँपालिकाले खटाएको घुम्ती टोलीलाई ६८ जनाबाट सम्पति तथा भुमिकर वापत ४५ हजार ४५५ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसअघि जलजला गाउँपालिका ३ मा शनिबार र आइतबार सञ्चालित शिविरमा एक लाख एक हजार २५४ रुपैयाँ राजस्व संकलन भएको थियो । हालसम्म १९७ जनाले एक लाख ४६ हजार ६८५ रुपैयाँ राजस्व बुझाएका टोलीका संयोजक सम्पति तथा भुमिकर फोकल पर्सन भेषनाथ आचार्यले जानकारी दिनुभयो ।

यसैगरी ३ जनाले व्यवसाय दर्ता गराएका छन् । सम्बन्धित वडाका जनप्रतिनिधिहरु र सचिवसँगको समन्वयमा एउटा वडामा एक देखि दुई दिनका दरले पुष २२ गते ९ वटै वडामा घुम्ति टोली परिचालन गरिने प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले बताउनुभयो ।