माधवदेखि योगेशसम्मले किन गरे काठमाडौंमा चुनाव हार्ने आशंका ?

  • २७ चैत्र २०७३, आईतवार
  • 2677 पटक पढिएको

चैत २७– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र सचिव योगेश भट्टराईले नेतृत्वको पेलाई आफूहरुलाई अस्विकार्य हुने बताएका छन् । उनीहरुले आफूहरु नेतृत्वको सामु आत्मसमर्पण गर्ने पक्षमा नरहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई कडा सन्देश समेत दिएका छन् ।

एमाले काठमाडौं जिल्ला समानान्तर जिल्ला कमिटी घोषणा कार्यक्रममा उनीहरुले अब नवौं महाधिवेशनको समिकरण भत्किसकेको समेत दाबी गरे । यस्तै उनीहरुले संस्थापनको पेलानले काठमाडौंमा गुटबन्दी मौलाएको भन्दै नेतृत्व नसच्चिए काठमाडौंमै पार्टीले स्थानीय तहको चुनाव हार्ने खतरा औंल्याउँदै त्यसको असर देशभर समेत पर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता माधव नेपालले काठमाडौंको समानान्तर कमिटी रहरमा बनाइएको नभई पेलाई खप्न नसकिएपछिको परिणाम भएको टिप्पणी गरे ।

अध्यक्ष ओलीप्रति लक्षित गर्दै एमाले राष्ट्रवादी पार्टी भएको तर कुनै व्यक्ति विशेष राष्ट्रवादी हुन् भनिनु गलत भएको बताए ।

‘कोहि व्यक्ति राष्ट्रवादी होइन, सिंगो एमाले चाहिँ राष्ट्रवादी हो, ’ नेपालले भने, ‘राष्ट्रवादी पार्टीबाट राष्ट्रघात हुन सक्दैन । एमालेका हरेक कार्यकर्ता, लोकतान्त्रवादी, गणतन्त्रवादी र समानताको पक्षमा रहेका छन् ।’

उनले काठमाडौंमा मात्रै नभई देशभर आफूहरुमाथि नेतृत्वले अन्याय गरेको भन्दै त्यसलाई समयमै समाधान नगरिए आफू चुप लागेर बस्ने पक्षमा नरहेको बताए ।

‘काठमाडौंमा मात्रै नभई देशभर हामीमाथि नेतृत्वले अन्याय गरेको छ, उनले भने, ‘त्यसलाई समयमै समाधान गरिएन भने माधव नेपाल अन्याय सहँदैन । जहाँ अन्याय हुन्छ । त्यहाँ माधव नेपाल उभिइन्छ ।’

उनले अगाडि भने, ‘माधव नेपालको पक्षमा लागेकालाई पेलेर जान खोजिएपनि हामी आत्मसमर्पण गर्दैनौं ।’ उनले ०५१ सालमा कांग्रेसलाई हराएर एमाले जिताउने पनि आफू भएको भन्दै त्यो कुरा नभुल्न ओलीलाई चेतावनी दिए ।

यस्तै वरिष्ठ नेता झलनाथ खनालले एमाले विधि र विधानमा चल्ने पार्टी भइरहेको भन्दै त्यो नेतृत्वबाट पालना हुन नसक्दा पार्टीमा गुटबन्दी फैलिरहेको बताए ।

‘पार्टी एक ढिक्का हुने बेला हो, तर यहाँ गुटबन्दी फैलिरहेको छ ’, खनालले भने, ‘त्यही गुटबन्दीको विरुद्ध यो भेला हो । गुटबन्दीको कारण विगतमा पनि एमाले फुटेको हो । त्यसले कसैको पनि भलो नभएको इतिहास एमालेसँग छ । सुद्धिढ एकाताले मात्रै पार्टी चुनावमा पहिलो हुन्छ ।’

नवौं महाधिवेशनको विधानभन्दा बाहिर गएर पार्टी चलाउन नपाइने भन्दै उनले भने, ‘ काठमाडौं कमिटी अवैधानिक छ । यस्तै अवस्था रहे गुटबन्दीका कारण हामी काठमाडौंमा चुनाव हार्छौ । अहिले अरु बामपन्थीहरुसँग पनि मिलेर जानुपर्ने हो तर नेतृत्वको कार्यशैलीले त्यो हुन सकेको छैन ।’

उनले काठमाडौंमा एमालेले हार्यो भने त्यसको जिम्मेवारी केपी ओलीले लिनुपर्ने समेत बताए ।

यस्तै सचिव योगेश भट्टराईले एमाले काठमाडौं विगतमा लालकिल्ला रहेको भएपनि अहिले त्यस्तो अवस्था नरहेको बताए ।

एमालेले काठमाडौंमा दोस्रो संविधानसभा चुनावमा खाएको पराजयपछि पनि नेतृत्वले कुनै पाठ नसिकेको आरोप लगाउँदै उनले भने, ‘ पनि अझ पनि काठमाडौं जिल्ला नेतृत्वले हारबाट शिक्षा लिएको छैन । अझैं बढी हार्ने मानसिकतामा छन् । ’

उनले नर्वौ महाधिवेशनको परिणाम चन्द्रसूर्य रहेजस्तो होइन भन्दै माहोल परिवर्तन भइसकेको समेत बताए । उनले नवौं महाधिवेशनबाट कोहि अध्यक्ष कोहि महासचिव भएको भएपनि पार्टी बनाउन सिंगो एमालेको भूमिका रहेको भन्दै कसैले दम्भ देखाउन आवश्यक नभएको बताए ।

नवौं महाधिवेशनको पार्टी सदस्यतालाई आधार बनाएर १५ दिनभित्र काठमाडौंमा अधिवेशन गर्न नेतृत्वलाई सुझाउँदै उनले त्यसबाट आउने परिणाम स्वीकार्न आफूहरु तयार रहेको बताए ।

आठ वर्षदेखि एमाले काठमाडौंको अधिवेशन हुन नसकेको र ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै नेपाल पक्षले बसन्त मानन्धरको नेतृत्वको ३८ सदस्यीय काठमाडौं समानान्तर कमिटी घोषणा गरेको हो ।
ओली पक्षका भने कृष्ण राई अध्यक्ष रहेका छन् ।

ratopati.com