एकिकृत घुम्ती शिविरबाट कुहुँमा ६४ जनालाई नागरिकता

  • ७ पुष २०७५, शनिबार
  • धिरन खत्री
  • 2972 पटक पढिएको

 

म्याग्दी, ७ पुष । ‘सरकारी सेवा जनताको घरदैलो’मा भन्ने मुलनारा म्याग्दीमा प्रभावकारी देखिएको छ । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आएर सेवा लिन नसकेका बासिन्दाहरुलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको समन्वयमा शिविर संचालन गरिदै आएको छ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले शनिबार मंगला गाउँपालिका–१ कुहुँमा आयोजना गरेको एकिकृत घुम्ती शिवीरबाट ५ सय जनाभन्दा बढी बासिन्दा लाभान्वित भएका छन् । ७३ बर्षिय टेकबहादुर पुनलाई प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले नागरिकता हस्तान्तरण गर्दै सेवा सुभारम्भ गरिएको थियो । ७३ बर्षको उमेरमा नागरिकता लिएका पुनले गाउँमै सेवा पाउँदा समय र सदरमुकाम पुग्दा हुने खर्चको बचत भएको भन्दै खुशी ब्यक्त गरेका थिए ।

जिल्लाबाट विभिन्न कार्यालयबाट पुगेका सरकारी सेवाबाट ६४ जनालाई नागरिकता, गाउँपालिकाबाट १ सय १० जनालाई जेष्ठ नागरिकता परिचयपत्र, ८ जनालाई अपाङ्ग परिचय पत्र, १६५ जनालाई आयुवेर्द सेवा, २सय १० जनालाई कृषि विउविजन वितरण, ७० जनालाई स्वास्थ्य सेवा, २७ जनाको मतदाता नामावाली, ११ जनालाई जनजाती परिचयपत्र वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए । पुश तथा भेण्डरी सेवा कार्यालयबाट १ हजार ३२८ ओटा पशुपन्छीलाई पुग्ने औषधी १२२ जनालाई, घरेलु तथा साना उद्योग कार्यालयबाट ५ जनालाई वाणिज्य फर्म दर्ता लगायतको सेवा दिएको थियो ।

जिल्ला न्याधिश राजकुमार कोइराला, गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगर, सशत्रका प्रहरी नायव उपरिक्षक अनिल कार्की, गाउँपालिका उपाध्यक्ष सृजना केसी, सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम लगायतका कर्मचारीको उपस्थितमा सेवा प्रदान गरिएको थियो ।

सोही शिवीरमा दिपशिखा विद्यालयका विद्यार्थीहरुलाई जिल्ला अदालतबाट देशमा भएको नयाँ कानुनबारे पशिक्षण र जिल्ला प्रहरी कार्यालयबाट लागुऔषधी र दुर्घटना लगायत सम्वन्धि जनचेतना कार्यक्रम गरेको थियो । भने शसक्तले कुहँुमा हेलिप्याड निर्माण गरेको थियो । गाउँपालिका अध्यक्ष रोकाले घुम्ती शिविर दुर्गमबस्तीमा प्रभावकारी देखिएको बताए ।

जिल्लाको सदरमुकाम देखि टाढा रहेको दुर्गम गाउँमा बस्ने जनताको घरदैलोमा सरकारी सेवा निरन्तरता दिएको छ । प्रशासनले कात्तिकमा धवलागिरी गाउँपालिकाको दुर्गम बस्ती १ र २ को गुर्जा र लुलाङमा सेवा दिएको थियो । त्यस्तै मंसिरमा रघुगंगा गाउँपालिका–६ घुम्ति शिविर संचालन गरेको थियो । माघमा मालिका गाउँपालिका–७ देविस्थान र फागुनमा अन्नपुर्ण गाउँपालिका–५ शिखमा घुम्ति शिविर प्रशासनले आयोजना गरेको छ ।

????????????????????????????????????

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l