मुकुललाई समृद्धितर्फ लैजान माओवादीको बिजयी अनिवार्यः नेता शाक्य

  • २७ चैत्र २०७३, आईतवार
  • 2721 पटक पढिएको

म्याग्दी, २७ चैत । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य हितमान शाक्यले नागरिकलाई अधिकार सम्पन्न गराई मुलुकलाई समृद्धितर्फ लैजानको लागि आगामी निर्वाचनमा माओवादीको बिजयी अनिवार्य रहेको बताउनुभएको छ । बेनी नगरपालिका–४ सिंगामा आज नेकपा (माओवादी) केन्द्र बेनी नगर कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।


नेता शाक्यले संविधान सभा मार्फत संविधान, संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातीक समावेशीता, महिला, आदीवासी जनजाती, अल्पसंख्यक र पिछडिएका क्षेत्रका नागरिकहरुलाई अधिकार सम्पन्न गराउन माओवादीले जनयुद्ध गरेको स्मरण गर्दै तिनै एजेण्डाहरुलाई कार्यान्वयन गर्न आबश्यक रहेकोमा जोड दिनुभयो ।

अहिले मुलुक माओवादीकै एजेण्डामा अगाडि बढेको भन्दै उहाँले वर्तमान सरकारले हाँसिल गरेको लोकप्रियताले पनि आगामी स्थानीय तह निर्वाचनमा जनताले माओवादीलाई रोज्ने उहाँले दावि गर्नुभयो । ‘‘ हिजो भष्ट्राचार गरि कालोबजारीमा विद्यूत बेच्नेहरुले देश पछाडी थकेलेका हुन्, अहिलेको सरकारले जसरी लोडसेडिङ हटाएर मुलुकलाई उज्यालोतर्फ अगाडी बढाएको छ, यसले आम नेपालीमा समृद्धिको आसा पलाएको छ’’–उहाँले भन्नुभयो ।
नेता शाक्यले विभिन्न शक्ति केन्द्रहरुले माओवादीहरुमा विभाजन ल्याएको जिकिर गर्दै मुलुकमा लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरुको रक्षाका निम्ती पुनः क्रान्तिकारी बिचारधाराका शक्तिहरु एकजुट हुनुपर्ने आबश्यकता औँल्याउनुभयो । उहाँले माओवादीले जनयुद्ध नगरेको भए मुलुकबाट राजतन्त्रको अन्त्य सम्भव नरहेको बताउँदै माओवादीको नेतृत्वविना मुलुकमा समृद्धि समेत सम्भव नरहेको बताउनुभयो ।
मुलुकको परिवतर्नका लागि गरिएको जनयुद्धको कार्यभार अझै पुरा नभएको बताउँदै उहाँले जनताका अधिकार स्थापित गर्दै मुलुकलाई दिगो विकासतर्फ लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य मानबहादुर बुढा, गोविन्द पौडेल लगायतले देशको विकासको योजना सहित माओवादी पार्टी निर्वाचनमा होमिएको बताउँदै निर्वाचनमा माओवादीको जित सुनिश्चित गर्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो ।
नेकपा माओवादी केन्द्र बेनी नगर समितिका संयोजक शेरबहादुर केसीको अध्यक्षता, विनोद केसीको स्वागत र कुशल पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रमा अनेमसंघ क्रान्तिकारीका अध्यक्ष ज्योती लामिछाने, नवप्रवेशी देवी केसी लगायतले मन्तव्य राख्नुभएको थियो भने विभिन्न पार्टीबाट नवप्रवेशीहरुलाई प्रमुख अतिथि शाक्यले स्वागत तथा सम्मान गर्नुभएको थियो ।