जलविद्युत आयोजनाको शिलान्यास : श्रमशक्तिलाई विदेश पलायन रोक्न सरकार प्रयासरत : मन्त्री थापा

  • २८ मंसिर २०७५, शुक्रबार
  • कमल खत्री
  • 3092 पटक पढिएको

बेनी, २८ मङ्सिर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले स्वदेशमै रोजगारिको अवसर सिर्जना गरि श्रमशक्तिलाई विदेशपलायनबाट रोक्न सरकार लागिपरेको बताउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेशी (बलौटे)मा शुक्रवार धौलागिरि कालिका हाईड्रो लिमिडेटद्धारा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको विद्युतगृहको शिलान्यास गर्दै मन्त्री थापाले उक्त कुरा बताउनुभएको हो ।

नेपाल समृद्धिको सम्भावनाहरुले भरिपूर्ण रहेपनि उजागर हुन नसक्दा उजाड बन्नुपरेको बताउँदै उहाँले आगामी ५ बर्षभित्र रोजगारिको लागि विदेश पलायत हुनुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले गृहकार्य थालेको बताउनुभयो । ‘‘ खाडी मुलुकका मरुभुमि नेपाली युवाहरुको पसिनाले सिंचीत भएर हराभरा भएको छ, यहाँ सम्भावनाका अनेक स्रोत र साधन छन् तर सम्भावना उजागर नहँुदा उजाड बन्नुपर्ने विडम्बना छ’’–मन्त्री थापाले भन्नभयो ।

मुलकमै आर्थिक उन्नतीको लागि सरकारले प्रधानमन्त्री युवा स्वरोजगार र प्रधानमन्त्री कृषि कार्यक्रमलाई अघि सारेको बताउँदै सरकारले ल्याएको नितिलाई कार्यान्वयन गर्दै आर्थिक उन्नतीमा लाग्न युवाहरुलाई आह्वान गर्नुभयो । प्रवासमा रहेका म्याग्देलीहरुको अगुवाईमा निर्माण हुन लागेको यस आयोजनाले विदेशमा आर्जन गरेको स्रोत, साधन र शिपलाई स्वदेशमै उपयोग गर्नुपर्ने सन्देश दिएको मन्त्री थापाले बताउनुभयो ।

नेपाल जलविद्युतमा प्रशस्त सम्भावनायुक्त रहेपनि अहिलेसम्म न्युन मात्रामा विद्युत उत्पादन भएको बताउँदै उहाँले आगामी १० बर्षभित्र १५ हजार मेगावाट विद्यूत उत्पादन गर्ने लक्ष्य सहित सरकारले जलविद्युत क्षेत्रको विकासमा लागिपरेको बताउनुभयो । मन्त्री थापाले म्याग्दी जलविद्युत, पर्यटन, जडिबुटी, कृषि लगायतको क्षेत्रमा प्रशस्त सम्भावनायुक्त रहेकाले यसतर्फ लगानी बढाउन आबश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा म्याग्दीका प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापा र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जलविद्यूत आयोजना निर्माणमा आईपरेका समस्या हल गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउँदै स्थानीयका उचित मागहरुलाई सम्बोधन गर्दै निर्धारित समयमै आयोजनाको निर्माण कार्यलाई पूर्णता दिने गरि काम गर्न आग्रह गर्नुभयो ।

मालिका गाउँपालिका–७ बिम , वडा नम्बर ५ देविस्थान र धौलागिरि गाउँपालिका–७ को सिमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने सो आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ । ५ अरब १५ करोड लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत विक्तिय संस्थाको लगानी रहने आयोजनाका अध्यक्ष विनोद कुँवरले जानकारी दिनुभयो । उहाँले स्वदेश तथा विदेशमा रहेका म्याग्देली तथा गैरआबसीय नेपालीहरुलाई लगानीको लागि आह्वान गरिएको बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l