म्याग्दी जेसीजको २०१९ को अध्यक्ष को ?

  • २७ मंसिर २०७५, बिहीबार
  • 2932 पटक पढिएको

सन्दीप खत्री
मंसिर २६, म्याग्दी । म्याग्दी जेसीजको अधिवेशन नजिकीएसँगै नयाँ नेतृत्वको बारेको चर्चा हुन थालेको छ । युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गरी समाजका लागि सक्षम र सबल युवा नेतृत्व उत्पादन संस्थाको रुपमा परिचित म्याग्दी जेसीजको आगामी वर्ष २०१९ का लागि अध्यक्ष पदको लागि ४ जनाले उम्मेदवारी प्रस्तुत गरेका छन् ।

बुधबार जेसीज सचिवालयमा सम्पन्न पाँचौ साधारणसभाको अवसरमा उम्मेदवारी प्रस्तुत गरिएको हो । म्याग्दी जेसीजका वरिष्ठ कार्यकारिणी उपाध्यक्ष शैलेस श्रेष्ठ, कार्यकारिणी उपाध्यक्ष खम थापा, भरत रकाल र अध्यक्षीय सल्लाहकार दिनेश बरालले उम्मेदवारी प्रस्तुत गरेका हुन ।


प्रत्येक वर्ष नेतृत्व परिवर्तन हुने जेसीजको विधान अनुसार २०१९ का लागि जनवरीभित्र अधिवेशन गरिसक्नु पर्ने प्रावधान रहेको छ । शाखा अध्यक्ष कमल विश्वकर्माको अध्यक्षतामा भएको उम्मेदवारी दावेदारी कार्यक्रममा अध्यक्षका प्रत्यासीहरुले वर्ष २०१९ को नेतृत्व प्रदान गर्नका लागि आफूहरु सक्षम रहेको जेसीजको आकर्षण अझै बढाउनका लागि नयाँ नयाँ कार्यक्रम रहेको बताउँदै उम्मेदवारी घोषणा गरेका हुन ।

त्यसैगरी सोही कार्यक्रममा शाखा अध्यक्ष कमल विश्वकर्माले म्याग्दी जेसीजले प्रत्येक वर्ष सञ्चालन हुने अन्तर मा.वि. जेसीज कप सञ्चालनका लागि सहज बनाउने उद्देश्यले आफ्ना स्वर्गीय बुबा मिनबहादुर विश्वकर्माको नाममा अक्षय कोष स्थापना गर्ने घोषणा समेत गरेका छन् । विश्वकर्माले जेसीजको गरिमाको रुपमा रहेको जेसीज कपलाई सफल र सहज तुलाउनका लागि अक्षय कोष घोषणा गरेको बताए ।

कार्यक्रममा म्याग्दी जेसीजको पूर्व अध्यक्ष विनय श्रेष्ठले उम्मेदवार घोषणा गरेका प्रत्यासीहरुलाई आवश्यक तयारीका बारेमा जानकारी गराउँदै सक्षम नेतृत्व प्रदानका लागि सबैलाई तयार रहनका लागि शुभकामना दिएका थिए ।