मौवाफाँटमा सामुदायिक होमस्टे

  • २४ मंसिर २०७५, सोमबार
  • 3436 पटक पढिएको

बेनी २४ मङसिर । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सामुदायिक होमस्टे सञ्चालन भएको छ । पाहुनाहरुको सुबिधा, पर्यटन प्रर्वद्धन र आयआर्जन वृद्धीको अवसरका लागि मौवाफाँटको ५ वटा घरमा एकता सामुदायिक होमस्टे सुरु भएको हो ।पाँच वटा घरमा एक, एक वटा कोठा को व्यवस्था गरेर दश जना क्षमताको होमस्टे सुरु गरिएको सञ्चालक समितिका अध्यक्ष मुकुन्दप्रसाद सुवेदीले बताए । सञ्चालक समितिलाई गाउँपालिकाले सोमबार गण्डकी प्रदेश सरकारको उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले जारी गरेको होमस्टे सञ्चालन कार्यबिधी २०७५ बमोजिम होमस्टे दर्ता र सञ्चालनको प्रमाणपत्र जारी गरेको छ ।

होमस्टे दर्ता र सञ्चालन प्रमाणपत्र जारी गर्नका लागि उपाध्यक्ष कमला तिलीजाको संयोजकत्वमा गठन भएको ५ सदस्यीय निरिक्षण समितिले पेश गरेको प्रतिवेदनको आधारमा कार्यबिधी अनुसार प्रमाणपत्र उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।

होमस्टे सञ्चालनका लागि नागरिकताको प्रमाणपत्र, वडाको सिफारीस, जग्गाधनी पुर्जाको प्रतिलिपी सहित गाउँपालिकाको कार्यालयमा निवेदन दिन सकिनेछ । गाउँपालिकाको सिफारीस र कार्ययोजना सहित प्रदेश मन्त्रालयले होमस्टे सञ्चालनका लागि प्रस्ताव आव्हान गरेको छ । उपयुक्त प्रस्ताव पेश गर्ने होमस्टे सञ्चालकलाई प्रदेश सरकारले तीन देखि पन्ध्र लाख रुपैयाँ अनुदान दिने जनाएको छ ।