गलेश्वर मन्दिरमा  छ लाख भेटि संकलन

  • २४ मंसिर २०७५, सोमबार
  • 2540 पटक पढिएको

म्याग्दी २४ मंसिर । बेनी नगरपालिका ९ मा रहेको म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर मन्दिरमा एकै दिन छ लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । गत बिहीबार बालाचर्तुदशी पर्वमा शतबिज छर्न र दर्शनका लागि आएका भक्तजनहरुले चढाएको भेटीले सो रकम संकलन भएको हो ।

बालाचर्तुदर्शी पर्वमा छ लाख ३२ हजार ५८७ रुपैयाँ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए । बालाचर्तुदर्शी पर्वमा शतबिज छर्न, कालीगण्डकी स्नान र पुजाआजाका लागि गलेश्वरमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौ लगायतका स्थानबाट हजारौ भक्तजन आएका थिए ।

हिन्दु सनातन धर्मावलम्बीहरुले देशभरका विभिन्न शिवमन्दीरहरुमा पुजापाठ गरि बालाचतुर्दशी पर्व मनाउँदै छन् । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलीएको चट्टानमाथि अवस्थित गलेश्वर मन्दिरमा बालाचर्तुदशी, शिवरात्री र साउन महिनाको सोमबारका दिन भब्य मेला लाग्ने गर्छ । कोषले भक्तजनले चढाउने भेटि सार्वजनिक गर्दै आएको छ । भक्तजनले चढाएको भेटिबाट मन्दिरमा पूर्वाधार निर्माण र प्रर्वद्धनात्मक कार्यक्रम सञ्चालनमा परिचालन गरिएको कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

सतिदेवीको गला पतन भएकाले गलेश्वर नामाकरण भएको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यस स्थानको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने कोषका उपाध्यक्ष भिमनाथ पराजुलीले बताए। कोषले बालाचर्तुदर्शी मेलालाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकाय, स्वयमसेवक रुपमा विभिन्न संघ संस्था तथा विद्यालय, आमा समूह, युवा कल्व र भक्तजनहरुले सहयोग गर्दै आएका छन् ।