बालबालिकाको लागि फर्सीको खिर

  • २४ मंसिर २०७५, सोमबार
  • 4191 पटक पढिएको

बेनी २४ मङसिर । म्याग्दीका अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई पौष्टिक आहराका लागि फर्सीकाे खिर बनाएर खुवाउन थालेका छन् । एउटै परिकारबाट बालबालिकाको शारीरिक तथा वौद्धिक विकासका लागि आवश्यक पर्ने धेरै किसिमका पौष्टिक तत्व पाइने भएकाले फर्सीको खिर बनाएर खुवाउन थालेका हुन् । फर्सीको महत्व बुझेपछि आमाहरु बालबच्चालाई खिर बनाएर खुवाउन थालेका छन् ।

बेनी नगरपालिका ६ जामुनाखर्ककी अञ्जु मल्ल शाहीले फर्सी बालबालिकाको पौष्टिक आहराका लागि उपयोगी भएको बताईन । स्वास्थ्य आमा समूहको बैठक र घरदैलो अभियानमा आएका सुआहारा कार्यक्रमका कर्मचारीले फर्सीको महत्व बुझाएपछि यसको बारेमा जानकारी पाएको उनले बताए ।शाहीले ११ महिनाकी आफ्नी छोरीलाई घरमै फलेको फर्सीको खिर बनाएर खुवाउने गरेको बताउनुभयो । पहिले महत्व नबुझेर गाउँघरमा प्रशस्त पाइने फर्सीलाई धेरैले गाइभैसीको आहरा बनाउने गरेका थिए ।

जामुनाखर्ककी महिला स्वास्थ्य स्वमसेविका पवित्रा हमालले फर्सीको खिर आर्थिक हिसाबले मितब्ययी र स्वास्थ्यका लागि लाभदायक भएको बताईन । स्वास्थ्य आमा समूहको बैठकमा फर्सीको खिर बनाउने तरिका सिकाएको उनले बताईन । बच्चालाई आवश्यकता अनुसारको पौष्टिक आहरा खुवाएमा कुपोषण हुनबाट जोगिने उनको भनाई छ ।

पाकेको फर्सीमा दूध, घ्यू, ओखर, अण्डा, चिनी, नुन, साग र मकैको पिठा मिसाएर पकाएपछि खिर बनाउन सकिन्छ । धेरै थरीका पौष्टिक तत्व पाइने खाद्यान्न एकै ठाउँमा मिसाएर खुवाउने भएकाले फर्सीको खिर बच्चाको आहराका लागि पोशिलो र उपयोगी हुने सुआहारा कार्यक्रमका पोषणा अधिकृत अमृत पौडेलले बताएका थिईन ।

सुआहारा कार्यक्रमको साझेदारी संस्था मिलन म्याग्दी मार्फत म्याग्दीका सबै वडाका बस्तीमा फर्सीको खिर तयार पार्ने तरिका सिकाउने अभियान चलाइएको छ । महिला स्वास्थ्य स्वयम सेविकाले स्वस्थ्य आमा समूहको बैठकमा सहभागि हुन आउने हजार दिनका आमाहरुलाई फर्सिको खिर पकाउने प्रबिधि प्रर्दशनी गर्ने गरेको मिलन म्याग्दीको फिल्ड सुपरभाइजर रामबहादुर खड्काले जानकारी दिए ।