सहकारीको मुठ्ठिदान अभियानबाट विद्यार्थीलाई सहयोग

  • २४ मंसिर २०७५, सोमबार
  • 2021 पटक पढिएको

बेनी २४ मङसिर । बेनीमा महिलाहरुले सञ्चालन गरेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले मुठ्ठिदान संकलन गरेर विपन्न विद्यार्थीलाई सोमबार नगद र खाद्यान्न सहयोग गरेको छ । संस्थाकी सेयर सदस्य स्वः तेजकुमारी गैरे (रुविना)को स्मृतिमा बेनपा ६ स्थित जामुनाखर्क माविका दुई जना छात्रालाई खाद्यान्न सहित नगद दुई हजार एक सय रुपैयाका दरले सहयोग गरेको हो ।

कक्षा १० की मनिषा भण्डारी र ९ की देवी खत्रीलाई सहयोग गरिएको संस्थाकी अध्यक्ष ज्योती लामीछानेले जानकारी दिए । एक÷एक बोरा चामल, एक पेक तेल, एक पेक चाउचाउ, दुई प्याकेट दालमोठ, तीन प्याकेज भुजा, पाँच प्याकेट नुन, ४ प्याकेट चिउरा, ४ के.जी रातो दाल, एक÷एक दर्जन कापी, दुई प्याकेट कलम र एक÷एक दर्जन कपडा धुने सावुन उपलब्ध गराएको हो ।

संस्थाकी अध्यक्ष लामीछाने लगायत पदाधीकारी र रुविनाका अभिभावक सहितको टोलीले विद्यालयका प्रअ सोमनाथ ढुङ्गाना मार्फत छात्राहरुलाई नगद र खाद्यान्न हस्तान्तरण गरेका हुन् । सेयर सदस्यहरुबाट मुठ्ठिदान अभियान मार्फत सहयोग जुटाएर गरिब, विपन्न, विपद् पिडित, अनाथ महिला तथा बालबालिकाहरुलाई सहयोग गरिदै आएको सहकारीले जनाएको छ ।

यसैगरी दिदीबहिनी सहकारी र संगम म्याग्दीको आयोजनामा लैङ्गगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत जामुनाखर्क माविका विद्यार्थीहरुलाई साईबर क्राइम र बालअधिकारको विषयमा प्रशिक्षण दिइएको छ । संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले कार्यक्रमको सहजिकरण गरेका थिए । अध्यक्ष लामिछानेको अध्यक्षता, प्रअ ढुङ्गानाको प्रमुख आतिथ्यता, उपाध्यक्ष बिष्णु सापकोटा गौतमको स्वागत मन्तब्य र शिक्षा उपसमिति संयोजक लिला गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।