दर्मीजामा सामुदायिक स्वास्थ्य इकाई

  • २३ मंसिर २०७५, आईतवार
  • 2019 पटक पढिएको

बेनी २३ मङसिर । म्याग्दीको रघुगंगा गाउँपालिका ४ दर्मीजामा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । भौगोलिक विकटताका कारण दग्नाममा रहेको वडा स्तरको स्वास्थ्य चौकीमा पुगेर स्वास्थ्य सेवा लिन समस्या भएपछि दर्मीजाबासीको सुबिधाका लागि गाउँपालिकाले इकाई स्थापना गरेर सेवा विस्तार गरेको हो ।

एक जना अहेव र एक जना कार्यालय सहयोगी रहने इकाईबाट स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सम्बन्धि सेवा उपलब्ध गराइने वडा अध्यक्ष एकबहादुर गर्बुजाले जानकारी दिनुभयो । इकाई स्थापना भएपछि १०६ घरधुरीको बसोबास रहेको दर्मीजाका बासिन्दाहरुलाई सामान्य बिरामी पर्दा समेत दुई घण्टा जंगल र भिरको बाटो हिडेर दग्नाम स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता हटेको छ । इकाईको शनिबार नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले उद्घाटन गर्नुभयो ।


कार्यक्रममा सभापति गर्बुजा, गाउँपालिकाका उपाध्यक्ष कमला तिलीजा, गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीका सल्लाहकार केबी भण्डारी र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाका स्वकीय सचिव गमबहादुर पुनले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगाका बस्तीहरुमा स्वास्थ्य सेवा विस्तारमा प्राथमिकता दिएको बताउनुभयो ।

वडा अध्यक्ष एकबहादुर गर्बुजाको अध्यक्षता र वडा सचिव भोलानाथ आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रमेश थापा र वडा सदस्य धनप्रसाद गर्बुजाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी रघुगंगा गाउँपालिका ७ चिमखोलामा महिलाहरुको क्षमत्ता तथा नेतृत्व विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रम वडा अध्यक्ष दुर्गा पुनको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष कमला तिलीजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।