च्युरीबोटमा स्वास्थ्य चौकीको भवन निर्माण

  • २३ मंसिर २०७५, आईतवार
  • 1913 पटक पढिएको

म्याग्दी २४ मङसिर । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरीबोटमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । भवनको शनिबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुभयो । वडा अध्यक्ष दिलीपकुमार शेरचनको अध्यक्षता, स्वास्थ्य चौकीका प्रमुख शम्भु श्रेष्ठको सञ्चालन र स्थानीय रेशम पुनको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष रोका र उपाध्यक्ष खरमाया बिटालुले भवनले स्वास्थ्य सेवा प्रवाहमा सहज हुने बताउदै स्वास्थ्य सेवाको पहुँच विस्तारमा जोड दिएको बताउनुभयो । श्रीबक्स गुल्मका गुल्मपती राजन दाहाल, वडा न. ५ देविस्थानकी वडा अध्यक्ष पिपला बुढाथोकी र गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश थापाको पनि उपस्थिती रहेको थियो ।


सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले भवन निर्माण गरेको हो । १५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०७४ साउनमा सुरु भएको भवन निर्माण योजना लक्ष्य भन्दा तीन महिना अघि गत असारमा सकिएको थियो । पूर्वाधार योजनाहरु ढिलासुस्तीले थला परेको अवस्थामा भवन बनाउने ठेक्का लिएको गाल्वा जय लक्ष्मी जेभीले ईच्छाशक्ती, समन्वय, समुदायको सहयोग र सक्रियता भएमा ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको छ ।


दुई तले भवनमा १७ सैया क्षमताको पूर्वाधार छ । एक करोड २६ लाख रुपैयाको लागतमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका सञ्चालक जयन्द्र श्रेष्ठले भवन डिभिजन मार्फत स्वास्थ्य चौकीलाई भवन हस्तान्तरण गरिएको बताउनुभयो । कार्ययोजना तयार पारेर पर्याप्त मजदुर, निर्माण सामाग्री जुटाएर काम गरेकाले लक्ष्य अघिनै भवन बनाउन सफल भएको ब्यवसायी श्रेष्ठले बताउनुभयो । डिभिजन कार्यालय, व्यवस्थापन समिति, जनप्रतिनिधी र समुदायको सक्रिय सहयोग पाएको उहाँको भनाई छ ।


भुकम्प प्रतिरोधी क्षमत्ताको अपाङगमैत्री भवनको भुई तलामा उपचार, प्रशासन, प्रयोगशाला, प्रसुती, औषधी भण्डार कक्ष छन् । माथिल्लो तलामा स्वास्थ्यकर्मीको लागि दुई परिवार क्षमत्ताको आवास कोठा बनाइएको छ । तारबार लगाएर घेराउ गरिएको भवन परिसरमा प्रवेशद्धार निर्माण भएको छ ।
यसअघि सिद्धार्थ मावीको पुरानो भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुदै आएको थियो । व्यवस्थित भवन र पूर्वाधार अभावमा सेवा प्रवाहमा समस्या भएको थियो । सुबिधासम्पन्न भवन निर्माण भएपछि सेवाप्रवाहमा सहज र सुधार आउने अपेक्षा गरिएको छ । भवन निर्माणका लागि स्थानीय दुई व्यक्तिले १२ लाख पचास हजार रुपैया मूल्य बराबरको साढे चार रोपनी जग्गा निशूल्क उपलब्ध गराउनुभएको थियो । प्रेमबहादुर घर्तीले ५ रोपनी ५ आना र गणेशबहादुर घर्तीले ११ आना जग्गा निशूल्क उपलब्ध गराउनुभएको हो । कार्यक्रममा जग्गादाता र लक्ष्य अघिनै भवन निर्माण गर्ने व्यवसायी जयन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।