न्यू निलगिरी सहकारीको पाँचौ साधारणसभा सम्पन्न

  • २२ मंसिर २०७५, शनिबार
  • 1305 पटक पढिएको

म्याग्दी, २२ मंसिर। सदरमुकाम बेनीबजारमा सञ्चालित न्यू निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्की(विखर्ची) ले सहकारी शिक्षाको अभावमा कतिपय सहकारीहरु दुर्घटनामा परेको बताउनुभयो । सहकारीको ऐन नियमलाई सञ्चालक सदस्यहरुले राम्रोसँग अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सहकारीले आफ्ना सदस्यहरुलाई नीति नियमका वारेमा प्रशिक्षण दिनुपर्ने उहाँको भनाई थियो ।


सहकारी सञ्चालकहरुमा अनुभवको कमिका कारण पनि कतिपय सहकारीहरुमा समस्या आएको बताउँदै अध्यक्ष कार्कीले भन्नुभयो“सहकारी शिक्षा र नीति नियम बुझेर मात्र सहकारी सञ्चालन गर्नुपर्दछ ।” उहाँले आर्थिक विकासका लागि सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सहकारी ऐनलाई पूर्ण रुपमा आत्मसाथ गर्दै संस्थाले आफ्नो आर्थिक कारोवारलाई बढाउन ध्यान दिन उहाँले सुझाव दिनुभयो । कतिपय सहकारीहरुले मूल्य र मान्यतालाई ख्याल नगरेका कारण दुर्घटनामा परेको उहाँको भनाई थियो ।


साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष जयराम सुवेदीले स्थापनाको छोटो समयमै सहकारीले प्राप्त गरेको उपलब्धी सन्तोषजनक रहेको बताउनुभयो । अध्यक्ष सुवेदीले सहकारीलाई बलियो बनाउनका लागि सदस्यहरुले कारोवारलाई वृद्धि गर्नुपर्ने बताउनुभयो । संस्थाले खराब कर्जालाई न्यूनिकरण गर्दै लैजाने नीति अवलम्बन गरी कर्जा असूली प्रक्रियालाई सक्रियताका साथ अगाडि बढाएको उहाँको भनाई थियो । सहकारीको शेयर पुँजी एक करोड ३० लाख, लगानी ३ करोड ६५ लाख ६० हजार एकसय ३१ रुपियाँ रहेको प्रबन्धक तर्कबहादुर केसीले बताउनुभयो । कृषि, व्यापार, पशुपालन,जग्गा,शैक्षिक,व्यापारीक, वैदेशिक रोजगार, गृह निर्माणलगायत सामाजिक क्षेत्रमा संस्थाको लगानी रहेको उहाँले बताउनुभयो ।

साधरणसभामा संस्थाका सचिव शैलेन्द्र बानियाँ,कोषाध्यक्ष तप्तबहादुर भण्डारीले सचव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा जिल्ला समन्वय समितिका प्रमुख एवम् शेयर सदस्य देवेन्द्र बहादुर केसी र पूर्व सभासद तथा सेयर सदस्य नवराज शर्माले सहकारीले कृषि र पशुपालनको क्षेत्रमा लगानी बढाउनु पर्ने बताउनुभयो । सहकारीका मूल्यमान्यतालाई आत्मसाथ गर्दै अघि वढेमा सफलता हासिल गर्न सकिने उहाँको भनाई थियो । सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अघि वढ्न उहाँहरुको सुझाव थियो ।

संस्थाका अध्यक्ष सुवेदीको अध्यक्षता, शेयर सदस्य लक्ष्मीप्रसाद सुवेदीको स्वागत र लेखापाल प्रज्वल शर्माको सञ्चालनमा साधारणसभा सम्पन्न भएको थियो । साधारणसभाले संस्थाको लगानी वढाउने,शेयर सदस्य थप गरी पुँजी दुई करोड पु¥याउने लगायतका प्रस्तावहरु पास गरेको प्रबन्धक केसीले जानकारी दिनुभयो । सदस्यहरुका विच आपसी सामाजिक भावना वृद्धि र सहकार्यको वातावरण बनाउन सहकारीका सदस्यहरुका विच मैत्रीपुर्ण बनभोज कार्यक्रम समेत राखेको सचिव बानियाँले बताउनुभयो ।