माछापुच्छ्रेद्धारा कम्प्युटर र शैक्षिक सामग्री सहयोग

  • २१ मंसिर २०७५, शुक्रबार
  • 2136 पटक पढिएको

बेनी २१ मङसिर । माछापुच्छ्रे बैङ्क लिमिटेडले बेनी नगरपालिका ८ कालिपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयलाई शुक्रबार कम्प्युटर र विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।बैङ्कको सामाजिक कार्यक्रम अन्तरगत एक थान कम्प्युटर र छ जना विद्यार्थीलाई एक वर्षलाई पुग्ने विद्यालय पोशाक, झोला, कापी, कलम, पेन्सिल, ज्यामिती बक्स, इरेजर, कटर लगायतका शैक्षिक सामग्री सहयोग गरेको हो ।

गण्डकी प्रदेशका सांसद बिनोद केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, वडा अध्यक्ष रामकृष्ण बराइली, वडा सदस्य हिम भण्डारी र बेनी शाखाका प्रबन्धक श्रीधर ढुङ्गानाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर महत र प्रअ सुरेन्द्र केसीलाई कम्प्युटर र शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

शैक्षिक सामग्री प्राप्त गर्नेहरुमा कक्षा २ का सन्ध्या छन्त्याल, कक्षा ३ का रुपा जुक्जाली, कक्षा ४ का एलिसा थापा, कक्षा ५ का दिपेन छन्त्याल, कक्षा ६ का समिर किसान, कक्षा ७ की सर्मीला वि.क रहेका छन् ।शाखा प्रबन्धक ढुङ्गानाको अध्यक्षता, कर्मचारी रामबाबु बरालको सञ्चालन र लक्ष्मण शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा प्रअ सुरेन्द्र केसीले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।

सांसद केसी र नगरप्रमुख श्रेष्ठले कम्प्युटर र शैक्षिक सामग्री सहयोगले विद्यालयको प्रशासनिक गतिबिधिका साथै गरिव, विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने बताए ।