मुनामा लैङ्गिक हिंसा विरुद्धको अभियान

  • २० मंसिर २०७५, बिहीबार
  • 2519 पटक पढिएको

मुना २० मंसिर । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहीबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिला अधिकार, हिंसा र सर्तकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा कार्यवाहक अध्यक्ष रेशम छन्त्यालले महिलाहरु आफ्नो अधिकार उपभोगमा अग्रसर बन्नुपर्ने बताए ।


समाज विकासको क्रमसँगै हिंसाको स्वरुप पनि फेरीएकाले महिला र पुरुष दुवै पक्ष हिंसाबाट पिडित हुने समस्या देखिएको बताएका थिए ।
छुवाछुत, छोरा र छोरी, छोरी र बुहारीमा गरिने बिभेद, बोक्सी प्रथा, बालबिवाहको न्युनीकरणमा जोड दिइएको उपाध्यक्ष छन्त्यालको भनाई थियो । न्यायीक समितिका संयोजक समेत रहनुभएका छन्त्यालले हिंसा र दुव्र्यवहार सहेर नबस्न आग्रह गर्दै न्यायका लागि न्यायीक समितिमा उजुरी गर्न आग्रह गरेका थिए ।


गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन पौडेलले लैङ्गिक समानताका लागि भएका राष्ट्रिय अन्तराष्ट्रिय संवैधानिक र कानुनी व्यवस्थाको बारेमा जानकारी गराए । उनले आफैले पालेको भाले बेच्न कालेका बाबालाई सोध्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउँदै निर्णय क्षमत्ताको विकासमा जोड दिए ।
गाउँ कार्यपालिका सदस्य किनमाया घर्ती र मनसुवा पुर्जाले हिंसा र दुव्यवहार सहेर बस्न नहुने बताउँदै आफूलाई परेको समस्या र दमनको कानुनी उपचार खोज्नुपर्ने बताए । मुना स्वास्थ्य चौकीका अहेव प्रतिमा श्रेष्ठले गर्भदेखिनै गरिने लैङ्गिक बिभेदको अन्त्यमा जोड दिएका थिए ।
धवलागिरी गाउँपालिकाको ३ नम्बर वडा मुनाका अध्यक्ष पुर्म पुनको अध्यक्षता, गाउँपालिकाका सूचना अधिकारी प्रेम बानियाको सञ्चालन र वडा सदस्य चुनदेवी रसाइलीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।


अन्तरक्रियामा मुना, फलीयागाउँ, मच्छिम, दर, मुदी, लमसुङका १२० जना महिलाहरुको सहभागिता रहेको थियो । सहभागि महिलाहरुले चेतना र शिक्षाको कमीले हिंसा सहेर बस्नुपर्ने बाध्यता रहेको बताए ।