गलेश्वरधाममा सतविज छर्नेहरुको घुईचो ( भिडियाे सहित)

  • २० मंसिर २०७५, बिहीबार
  • धिरन खत्री
  • 4661 पटक पढिएको


गलेश्वर, २० मंसिर । म्याग्दीको मुख्य धार्मिक पर्यटकीयस्थल नौ रोपनीको चक्रशिलामा रहेको गलेश्वरधाममा दिवंगत भएका आफन्तहरुको चिरशान्तिको कामना गर्दै सतबीज छर्नेहरुको घुईचो लागेको छ ।

कृष्ण चर्तुदर्शी अर्थात बालाचतुदर्शी पर्वको अवसरमा म्याग्दी, पर्वत, बाग्लुङ्ग, कास्की, वुटवल, काठमाण्डौ, रुपन्देही लगायतका ठाउँबाट सतबीज छर्नका लागी हजारौ भक्तजनहरुले घुईचो लागेको हो ।


प्राचिनकालदेखी नै बालाचतुर्दशीको दिनमा सतबीज छर्ने परम्परा अनुसार दिवंगत भएकाहरुको चिरशान्ती र संसारमा रहेका जिव तथा पंक्षीहरुको रक्षा हुने धार्मिक महत्वका साथ विभिन्न अन्न तथा फलफुलहरुको विउ छर्ने गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष तथा पण्डीत भिमनाथ पराजुलीले बताए। धान, गहुँ, जौ, तिल, चना, मकै, तथा केरा, सुन्तला, मुला, सखरखण्ड, पिँडाली जस्ता सय थरि अन्न र फलफुलहरुलाई सतबीजको रुपमा छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ ।


आज विहानै देखी कालीगण्डकी नदीमा स्नान गर्ने र गलेश्वर शिवालय मन्दीरमा रहेको १ सय ८ शिबलिंगमा पुजापाठ गर्नेहरुको समेत घुईचो लागेको छ । त्यस्तै पुन्यप्राप्तीका लागी आजै कालिगण्डकी नदीमा विभिन्न रंगीचंगी फुलहरुबाट बनाईएको तोरनहरु समेत टांगीएको छ भने गलेश्वर मन्दीर वरपर बालाचतुर्दशी मेला भर्न आएका तिर्थालुहरुको चापका कारण गलेश्व्रमा अन्य समयको तुलनामा व्यापार व्यवसायमा कारोवार बढेको छ ।


गाउँबाट आएका सर्वसाधारणहरुले कपडा, नाङ्लो, डालो, मुर्ति, जिरा, मसला लगायतका सामान किनेर लैजानेहरुको भिड लागेको छ । मन्दीरमा पुजा गर्नका लागी नरिवल, केरा, स्याउ, जस्ता फुलप्रसादहरुको समेत व्यापार बढेको व्यवसायीहरुले बताएका छन् । भगवान शिवजीका ८८ अवतार मध्ये आजका दिनमा बाल अवतार भएको धार्मीक विश्वासको साथमा बालाचतुर्दशीको दिनमा विषेश पुजापाठ गरिने पण्डीत भिमनाथ पराजुलीले जानकारी दिए । आजका दिनमा हिन्दु सनातन धर्मावलम्बीहरुले देशभरका विभिन्न शिवमन्दीरहरुमा पुजापाठ गरि बालाचतुर्दशी पर्व मनाउँदै छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l