निर्माण व्यवसायि संघ म्याग्दीको विवाद उत्कर्षमा, दुई समुहको छुट्टाछुट्टै भेला आह्वान ( भिडियो सहित)

  • १९ मंसिर २०७५, बुधबार
  • 2236 पटक पढिएको

म्याग्दी १९ मंसीर । निर्माण व्यवसायि संघ म्याग्दीको विवाद छताछुल्ल भएको छ । संघको वर्तमान कार्य समितिलाई साधारण सभा र बैधानिकताको बिषयमा संघका असन्तुष्ट पक्षले पश्न उठाएको छ भने दुबै समुहले बेनीमा छुट्टाछुट्टै भेला समेत आह्वान गरेका छन् । गत असोजमा सम्पन्न संघको राष्ट्रिय अधिवेसनमा प्रतिनिधी छनौटमा असन्तुष्ट भएपछि संघको पदावधी सकिएको समितिले गरेको निर्णय अबैधानिक भएको आरोप सहित पूर्व अध्यक्ष कृष्णकुमार शेरचन र वरिष्ठ उपाध्यक्ष प्रदीप सापकोटाले उच्च अदालत बागलुङ्गमा रिट हालेपछि संघभित्रको विवाद बाहिर आएको हो ।

असन्तुष्ट पक्षले वर्तमान कार्य समितिको दुई बर्षे कार्यकाल गत जेठ २८ मै समाप्त भएको र साधारण सभा लगायतको संस्थागत गतिविधि समेत नगरेको भन्दै तदर्थ समिति गठनको लागि भेला आह्वान गरेका छन् । संघका पूर्व अध्यक्ष समेत रहेका अमर बानियाँले अगुवाई गर्नुभएको असन्तुष्ट पक्षले अदातलको आदेश बमोजिम २०७२ साल जेठ २९ मा नारायण बहादुर जिसीको अध्यक्षतामा निर्वाचित कार्यसमितिको पदावदी सकिएको समितिले साधारण सभा र अधिवेशन नै आह्वान गरेको कारण संघलाई पुर्नजिवन दिनको लागि भन्दै शुक्रबार बेनीमा भेला बोलाएको जनाएको छ ।

निवर्तमान अध्यक्ष बानियाँले संघको वर्तमान परिस्थिति र अदालतको उत्पेषणयुक्त परमादेशलाई कार्यान्वयन गरि संघको वैधानिक रिक्ततालाई हटाएर नयाँ नेतृत्व चयनको लागि छलफल गर्न भेला आह्वान गरेको बताए । उनले सो भेलाबाट संघको तदर्थ समिति गठन गर्ने र सोही समितिले साधारण सभा मार्फत नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए ।

यता संघका वर्तमान अध्यक्ष जिसीले भने यस अघिका सबै अध्यक्षहरुले पनि तीन वर्षे कार्यकाल नेतृत्व गरेर छ महिना म्याद थप गरेर मात्रै अबिधेशन गरेको नजिर भएको बताए । उनले निवर्तमान समितिबाट आफुले आर्थिक कारोबार बरबुजारत नगरेको, आफ्नो कार्यकालमा एउटापनि चेकमा आफुले हस्ताक्षर नगरेको र आफु अल्पमतमा रहेकाले कुनैपनी संस्थागत आर्थिक कारोबार गर्न नपाएको कारण संघको नेतृत्वमा रहेर आफुले कुनै अपार्दशी र आर्थिक चलखेलको काम नगरेको दावि गरे ।

मङ्सिर १५ गते अधिवेशन आह्वान गरेको भएपनि अदालतको फैसलाले अन्यौलता सिर्जना गरेको कारण भेला मार्फत छलफल गरि संघको विधान र बैधानिकताको समस्या हल गर्ने प्रयासमा आफु लागेको उनले बताए । ‘‘ हिजो आफुले नेतृत्व गर्दा जे गर्दापनी हुनी, आज हरुले पनी सोही नजीरमा अघि बढ्दा रडाको मच्याउने ? यस्तो कार्य स्विकार्य हुँदैन,  विहिबार भेला बोलाएको छु, भेलाको निर्णय अनुसार अघि बढ्छु’’–उनले भने । उनले आफु विरुद्ध अदातलमा परेको रिटमा प्रतिउत्तर लगाउन नपाईकनै एकपक्षिय फैसला भएको र आफु सर्वोच्च जाने तयारी गरेको जानकारी दिए । यस संघले महासंघको परिपत्र अनुसार २ बर्षेकार्यकाललाई बढाएर तीन वर्षे कार्यकाल बनाउने गरि बिधान संसोधन गर्ने निर्णय भएपनि अहिलेसम्म विधान संसोधनले बैधानिकता पाएको छैन् । यस अघिका अधिकाँश अध्यक्षले समेत ३ बर्षसम्मै नेतृत्व गर्ने गरेको दुबै पक्षले स्विकार गरेका छन् ।

९२ जना साधारण सदस्य रहेको संघको १० औँ अबिधेशनमा भएको निर्वाचनमा वर्तमान अध्यक्ष जिसी बाहेक अन्य सबै पदाधिकारी र सदस्य अध्यक्षका पत्यासी गोपाल भट्टचन पक्षबाट बिजयी भएका हुन् । निर्वाचनमा दलिय रुपमा प्रतिस्पर्धा भएपनि अहिले संघभित्र देखिएको विवाद भने संघभित्रको आर्थिक गतिविधि, नेतृत्व र अस्तित्वसंग जोडिएको छ ।

गत असोजमा संघका अध्यक्ष जिसी पक्षधरले वर्तमान कार्य समितिका बरिष्ठ उपाध्यक्ष प्रदिप सापकोटा, निवर्तमान अध्यक्ष अमर बानियाँ, पूर्व अध्यक्ष कृष्णकुमार शेरचन, अध्यक्षका प्रत्यासी गोपाल भट्टचन सहित १३ जनालाई संघको विधान र विधि बाहिर गएर काम गरेको भन्दै ६ महिनासम्मको लागि साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको थियो । महाधिबेशन प्रतिनिधि छनौटको विवाद र पदाधिकारी सहितको कारबाहीको रुप उत्कर्षमा पुगेपछि यतिबेला निर्माण व्यवसायि संघको भविश्य नै अन्यौल बनेको छ ।

मङ्सिर २ गते अदालतले निर्माण व्यवसायि संघ म्याग्दीको विधान अनुसार निर्वाचित समितिको कार्यकाल दुई बर्ष हुने र सो समय सकिसकेकाले सर्वसम्मत तदर्थ समिति गठन गरि साधारण सदस्यहरुको भेला गरि कार्य समिति निर्वाचन गर्न परमादेश दिएको थियो । बिगतका नेतृत्वहरुले सहमतीमा बैठकको निर्णय अनुसार कार्यकाल बढाएर नेतृत्व हस्तान्तरण गरेपनि यस पटक भने संघभित्रको विवाद अदालतसम्म पुगेपछि आन्तरिक बिवाद थप बढेको छ ।