पोखरेबगर–चित्रे सडक कालोपत्रे योजना सुरु (भिडियो सहित)

  • १६ मंसिर २०७५, आईतवार
  • कमल खत्री
  • 2553 पटक पढिएको

बेनी १६ मङ्सिर । म्याग्दीमा पहिलो पटक ग्रामीण सडकलाई कालोपत्रे गर्ने योजना सुरु भएको छ । सदरमुकाम बेनी र गलेश्वर बजारभित्र मात्रै सडक कालोपत्रे भएको यस जिल्लामा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे हुँदै पर्यटकीय स्थल घोडेपानी जोड्ने ग्रामीण सडकमा जिल्लामै पहिलो पटक कालोपत्रे सहित स्तरोन्नति गर्ने योजना सञ्चालन भएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई म्याग्दीले सुरु गरेको सडक स्तरोन्नती योजनाको आईतवार म्याग्दीका प्रतिनिधि सभाका साँसद भुपेन्द्रबहादुर थापाले सुभारम्भ गर्नुभएको हो । पोखरेबगरमा आयोजित एक कार्यक्रममा साँसद थापाले सडक स्तरोन्नतीको शिलन्यास गर्दै निर्धारित समयमै आयोजनाको काम सम्पन्न गर्ने गरि काम गर्न निर्माण व्यवसायि र उचित वातावरण बनाउन स्थानीय जनप्रतिनिधि र स्थानीयबासीलाई आग्रह गर्नुभयो ।

‘‘ यो सडकको महत्व बहुआयामीक छ, यसले स्थानीयबासीलाई सुविधासंगै आर्थिक विकासमा ठुलो टेवा पु¥याउँछ, दिर्घकालीन महत्व राख्ने योजना भएकाले आयोजनालाई प्रभाबकारी कार्यान्वन गर्नु अति आबश्यक छ’’–साँसद थापाले भन्नुभयो । पोखरेबगर (घारखोला) देखि घार खिवाङ शिख हुदै चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर लामो सडकलाई कालोपत्रे सहितको स्तरोन्नति गर्न २०७७ जेठ २२ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवराम गेलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ३६ करोड ६९ लाख ५८ हजार १० रुपैयाँ लागत अनुमान गरिएको यस आयोजना निर्माणका लागि मोतिदान–जयमाता जेभीले २७ करोड ९१ लाख ३५ हजार २२० रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । हाल कच्चि र साँघुरो रहेको यस सडकलाई फराकीलो बनाएर साढे १२ किलोमिटर कालोपत्रे, ४ किलोमिटर सोलिङ र २ किलोमिटर सडक आरसीसी ढलान गरिनेछ ।

सडक स्तरोन्नती शिलन्यास कार्यक्रममा गण्डकी प्रदेशका सांसद विनोद केसी, जिसस प्रमुख देवेन्द्रबहादुर केसी, केन्द्रिय आयोजना कार्यान्वयन इकाईका निर्देशक गणेशराज वस्ती, प्रजिअ लीलाधर अधिकारी, नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसका कार्यवाहक सभापति माधवप्रसाद रेग्मी र गाउँपालिकाका उपाध्यक्ष केसमायाँ मगरले म्याग्दी जिल्लाकै गौरबको आयोजनाको रुपमा सञ्चालन भएको यस सडकलाई निर्धारित समयभित्रै गुणस्तरीय काम सहित सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो ।

यो सडक स्तरोन्नती भएपछि अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ शिख र ६ घारका बासिन्दा संगै पर्यटकीय क्षेत्र घोडेपानी, पुनहिल क्षेत्रमा जाने पर्यटकहरुलाई समेत सुविधा पुग्ने गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिएनुभयो । उहाँले सडकबाट प्रभावित घार र शिख क्षेत्रका स्थानीयलाई आयोजनालाई समयमै सम्पन्न गराउनको लागि रचनात्मक सहयोग गर्न समेत आह्वान गर्नुभएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि रामप्रसाद बञ्जराले आयोजनालाई समयमै सम्पन्न गर्ने गरि स्रोत र साधन परिचान गरि सडक स्तरोन्नतीलाई तिब्रता दिने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले स्थानीय स्तरमा हुने सम्भावित विवाद र आबश्यक समाग्रीको अभाब सामाना गर्न नपरे तोकिएकै समयमा निर्माण कार्यलाई सम्पन्न गर्न प्रतिबद्ध रहको बताउनुभयो । गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता र जिल्ला समन्व्य समितिका शाखा अधिकृत गोविन्द सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l