संक्रमितलाई ‘भाइरल लोड’ र ‘सिडीफोर’ गर्न समस्या

  • १५ मंसिर २०७५, शनिबार
  • 2344 पटक पढिएको

 

बेनी १५ मङसिर । जिल्लामै ‘भाइरल लोड’ र ‘सिडीफोर’ गर्ने सुबिधा नहुँदा म्याग्दीका एचआइभी एड्स रोगबाट संक्रमितहरुको उपचारमा समस्या भएको छ ।भाइरल लोड र सिडिफोर गर्न बागलुङ र पोखरा पुग्न आर्थिक अभावका कारण समस्या भएको संक्रमितहरुको भनाई छ । संक्रमितले रोगसँग लड्न सक्ने क्षमत्ता पहिचान गर्न १/१ वर्षमा र औषधीले काम गरे/नगरेको पत्ता लगाउन ६/६ महिनामा सिडिफोर गर्नुपर्छ ।

आर्थिक अभावका कारण पोखरा र बागलुङ पुग्न नसक्ने संक्रमितिहरु भाइरल लोड र सिडिफोर गर्ने सुबिधाबाट बञ्चित भई एचआइभी रोगको संक्रमण न्युनीकरणको अभियानमा चुनौती देखिएको संक्रमित होमबहादुर पुनले बताए ।६१ औ विश्व एड्स दिवसका अवसरमा बेनी नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा सक्रमितहरुको उपचार, सेवा, सुबिधामा सक्रिय रहदै आएका पुनले नयाँ संरचना कार्यान्वयनसँगै तत्कालीन जिविसले बिनियोजन गर्ने अनुदान कटौती हुँदो उपचारमा समस्या भएको बताए ।

दुई वर्षअघिसम्म तत्कालीन जिविसले संक्रमितहरुलाई औषधी उपचारका लागि अस्पताल जान आउनका लागि वार्षिक पचास हजार रुपैयाँका दरले बिनियोजन गर्दै आएको थियो । आर्थिक रुपमा गरिब विपन्न समूदायका संक्रमितहरु यातायात भाडा समेत नपाएर बेनी र जिल्ला बाहिरका अस्पतालमा एआरटी औषधी लिन जान छाडेको समेत पुनले बताएका थिए ।

बेनी अस्पतालकी स्टार्फ नर्स पशुपती बानियाले बेनपामा १५, मंगला गाउँपालिकामा १०, अन्नपूर्णमा १३, मालिकामा ७, रघुगंगामा ११ र धवलागिरी गाउँपालिकामा १ जना गरि म्याग्दीमा हाल ५९ जना एचआइभी एड्स संक्रमित रहेको बताईन ।

म्याग्दीका १३ जनाले बागलुङ, ४२ जनाले पोखरा र १५ जनाले काठमाडौबाट एआरटी औषधी सेवन गरेका बेनी अस्पतालका मेडिकल अधिकृत रवीकान्त शाहले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले एचआइभी परिक्षणका लागि आकर्षण, बिरामीको प्रभावकारी औषधी उपचारमा सहज पहुँच र सम्मानजनक रुपमा बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताएका थिए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षता, स्वास्थ्य शाखाका प्रमुख लिलादेवी गौतमको सञ्चालन र उपसंयोजक सोमनाथ उपाध्यायको स्वागतमा सम्पन्न कार्यक्रममा प्रजिअ लीलाधर अधिकारीले एचआइभी न्युनीकरणमा जोड दिएका थिए ।