१७ औँ जेसीज कप फुटवलमा सेमिफाईनल टीमको टुंगो लाग्यो (भिडियो सहित)

  • १३ मंसिर २०७५, बिहीबार
  • 2617 पटक पढिएको

म्याग्दी, १३ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा जारी १७ औ अन्तर मा.वि. हुवावे जेसीज कप फुटबल प्रतियोगिता–२०१८ मा सेमिफाईनलमा भिड्ने टोलीको टुंगो लागेको छ । विहिवार भएको क्वाटर फाईनल खेलमा डिफेण्डीङ च्यापिएन न्यु वेष्ट प्वाइन्ट आवासीय मावि संगै, केवी एकेडेमी दरबाङ, धौलागिरि मावि सिंगा र बेनी आवासीय माविले जित हात पार्दै सेमिफाईनलको यात्रा सुरक्षित गरेका हुन् ।

क्वाटर फाईनलमा प्रकाश माविलाई २ का विरुद्ध ३ गोल गर्दै बेनी आवासीय मावि, बेनी सामुदायिकलाई १ का विरुद्ध ३ गोल गर्दै न्यु वेष्ट प्वाइन्ट, माउण्टलाई २ का विरुद्ध ३ गोल गर्दै केवी एकेडेमि र लिटल गार्डेन एकेडेमिलाई शुन्यका विरुद्ध ७ गोल गर्दै धौलागिरि मावि सेमिफाईनल प्रवेश गरेका हुन् ।

शुक्रवार फाईनल प्रवेशको लागि हुने सेमिफाईनलमा वेष्ट प्वाइन्ट र धौलागिरि मावि तथा केवी एकेडेमि र बेनी आवासीय माविबिच प्रतिस्पर्धा हुने प्रतियोगिताका प्रवक्ता सुजन बरुवालले जानकारी दिनुभयो ।

म्याग्दीमा विद्यालय स्तरमा चर्चित मानिएको प्रतियोगितामा विभिन्न १६ विद्यालयले सहभागीता जनाएका थिए । प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफि, मेडल, प्रमाण–पत्र र नगद ४० हजार तथा उपबिजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्र र नगद २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष कमल विश्वकर्माले जानकारी दिनुभयो ।

अनुशासित टिमलाई पाँच हजार पाँच सय, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

प्रतियोगिता सञ्चालनको लागि बेनीका पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतीमा उनका परिवारले रु दुई लाख पचास हजार रुपैयाँको सन्तोष स्मृति अक्षयकोष स्थापना गरि सहयोग गर्दै आएका छन भने प्रतियोगिताको मुख्य प्रायोजक हुवावे मोवाइलका बेनी स्थित नरेश मोवाइलका सञ्चालक नरेश श्रेष्ठले एक लाख रुपैयाँ उपलब्ध गराउनुभएको छ ।

यसैबिच विहिवार भएको प्रतियोगितामा प्याराफिटमा खेलाडीको हौँसला बढाउन आएका माउण्टका विद्यार्थीहरुले खेलाडीहरुतर्फ ढुंगा प्रहार गरि अर्मयादीत व्यवहार पदर्शन गरेको भन्दै आयोजकको आकस्मीक बैठकले विद्यालयलाई रु ५ सय जरिवाना गर्ने निर्णय समेत गरेको म्याग्दी जेसीजले जनाएको छ ।