बेनीमा जेसीज कप फुटवल सुरु, साबिक बिजेता र उपबिजेता विद्यालयको बिजयी सुरुवात (भिडियो सहित)

  • ११ मंसिर २०७५, मंगलवार
  • कमल खत्री
  • 2018 पटक पढिएको

म्याग्दी ११ मङसिर । म्याग्दी सदरमुकाम बेनीमा मंगलवारदेखि १७ औ अन्तर मा.वि. हुवावे जेसीज कप फुटबल प्रतियोगिता–२०१८ सुरु भएको छ । जिल्लामा विद्यालय स्तरमा चर्चित मानिएको प्रतियोगिताको सुरुवातमा साविक विजेता न्यु वेष्ट प्वाइन्ट आवासीय मावि र उप–बिजेता माउण्ट एभरेष्टले बिजयी सुरुवात गरेका छन् ।

म्याग्दी जेसीजद्धारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा साविक बिजेता वेष्ट प्वाइन्टले महेन्द्ररत्न मावि बरंजालाई शुन्यका विरुद्ध नौ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै साविक उप–बिजेता माउण्ट एभरेष्टले बुद्ध एकेडेमी बगरफाँटलाई शुन्यका विरुद्ध २ गोल गर्दै पहिलो चरणमा जित निकालेको छ ।

त्यस्तै बेनी सामुदायीक माविले १ का विरुद्ध ३ गोल गर्दै लोकदीप आवासीय मावि र केवी एकेडेमी दरबाङले शुन्यका विरुद्ध २ गोल गर्दै भिम मावि राजदाङलाई पराजीत गरेको प्रतियोगिताका प्रवक्ता सुजन बरुवालले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका विभिन्न १६ विद्यालयले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफि, मेडल, प्रमाण–पत्र र नगद ४० हजार तथा उपबिजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्र र नगद २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष कमल विश्वकर्माले जानकारी दिनुभयो ।

अनुशासित टिमलाई पाँच हजार पाँच सय, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले १७ बर्षदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जेसीजकप प्रतियोगीताले म्याग्दीमा नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

प्रतियोगिता सञ्चालनको लागि बेनीका पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतीमा उनका परिवारले रु दुई लाख पचास हजार रुपैयाँको सन्तोष स्मृति अक्षयकोष स्थापना गरि सहयोग गर्दै आएका प्रतियोगिताको मुख्य प्रायोजक हुवावे मोवाइलका बेनी स्थित नरेश मोवाइलका सञ्चालक नरेश श्रेष्ठले एक लाख रुपैयाँ उपलब्ध गराउनुभएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l