अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी

  • ४ मंसिर २०७३, शनिबार
  • 1769 पटक पढिएको

चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् ।

बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् । ट्रम्पले २७६ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् ।

राष्ट्रपतिमा जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक थियो ।

ट्रम्पको जितसँगै हजारौं समर्थकले खुशीयाली मनाइरहेका छन् ।

विजयलगत्तै सम्बोधन गर्दै ट्रम्पले विश्वका सबै देशलाई न्यायपूर्ण व्यवहार गर्ने प्रतिबद्धता जनाएका छन् । ‘हामी विश्वका सबै देशलाई न्यायपूर्ण व्यवहार गर्नेछौं,’ उनले भने । उनले दुस्मनसँग पनि मित्रता हुने बताए ।

ट्रम्पले प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले फोन गरेर आफूलाई बधाई दिएको बताए ।

राष्ट्रपति चुनावमा पराजित हिलारीले भने सम्बोधन नगर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।