तिम्ल्याह बच्चाको जन्म

  • ११ मंसिर २०७५, मंगलवार
  • 2903 पटक पढिएको


बेनी ११ मङसिर । म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीका एक युवतीले जन्माएका तिम्ल्याह बच्चाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।२२ वर्षीया कमला परियारले शल्यक्रिया मार्फत सोमबार बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरी जन्माएकी थिइन् । कमलाको स्वास्थ्य सामान्य रहेपनि आईसीयुमा राखिएका तीन वटा बच्चाको उपचारका लागि आर्थिक अभावका कारण समस्या भएको कमलाका श्रीमान राजु नेपालीले बताए ।

एउटा छोरा साढे तीन किलो, अर्को साढे दुई र पछिल्लो पटक जन्मीएकी छोरीको तौल आठ सय ग्राम छ । राजुका भाई जयन्द्रका अनुसार एक जना बच्चाको उपचारका लागि कम्तीमा ३५ हजार रुपैयाँ आवश्यक परेको छ ।आठ वर्षको हुँदा बुवालाई गुमाएका राजुकी आमा पनि उनी नौ वर्षको हुँदा उनलाई छाडेर दोस्रो बिवाह गरेर गएकी थिइन् । वडा सदस्य नरकुमारी गुरुङले राजुलाई कक्षा १२ सम्म पढाएकी थिईन । तीन वर्षअघि कमलासँग बिवाह गरेपछि आफ्नो घरमा बस्न थालेका राजुको पारिवारीक अवस्था कमजोर रहेको स्थानीय भोलानाथ पौडेलले बताए ।

तिम्ल्याह बच्चाको उपचारका लागि टोल सुधार समितिका अध्यक्ष राम्जी मल्लको नेतृत्वमा हिलापोखरीका भोलानाथ पौडेल, तारानाथ पौडेल, तोरण थापा र दिवस फगामी लगायतको टोलीले सोमबार हिलापोखरी, ताकम, शिवाङ र काफलडाँडामा घरदैलो गरेर करिब साठी हजार रुपैयाँ जुटेको थियो ।