ज्ञान प्रकाश माविको भवन निर्माण (फोटो फिचर)

  • २ मंसिर २०७५, आईतवार
  • 3174 पटक पढिएको

दाना २ मंसिर । अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित ज्ञानप्रकाश माविमा पूर्व गोर्खा सैनिकहरुको पहलमा कक्षा कोठा भवन निर्माण भएको छ । बेलायती पूर्व गोर्खा सैनिकहरुको पहलमा पहार ट्रस (कोष) नेपालको को सहयोगमा आठ कोठे पक्की भवन निर्माण भएको हो । कोषको ७२ लाख ११ हजार २१७ रुपैयाँ र विद्यालयको २५ लाख दश हजार ८७ रुपैयाँ गरी कूल ९७ लाख २१ हजार ३०४ रुपैयाँको लगानीमा दुई तले भवन निर्माण भएको ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि सहयोग भित्र्याउन बेलायतको गोर्खा सैनिकका सेवा निवृत दानाबासीहरुले पहल गरेका थिए । २०७४ मंसिर ४ गते शीलन्यास गरिएको भवनको शनिबार पहार ट्रसका प्रतिनिधि हवार्ड ग्रेई एमबिई र उहाँकी श्रीमती सेनी ग्रेईले उद्घाटन गर्नुभयो । बेलायती नागरिक काटलिन क्रोकिल स्पिनरले श्रीवंगत श्रीमानको स्मृतीमा भुकम्पका कारण जिर्ण बनेको भवन निर्माणमा पहार ट्रस मार्फत सहयोग गर्नुभएको संस्थाका अध्यक्ष चन्द्रबहादुर गुरुङले बताउनुभयो । बेलायतमा बसोबास गर्ने दानाबासीहरु आवद्ध फ्रेण्डली ब्रर्दश दाना सेरोफेरो युकले पनि सहयोग गर्ने जनाएको छ ।

उद्घाटन कार्यक्रममा संस्थाका प्रतिनिधि ग्रेईले ग्रामिण क्षेत्रमा रहेको विद्यालयमा भवन निर्माण भएर सहज रुपमा पठनपाठन गर्ने वातावरण बनेकोमा उत्साहीत भएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले भवन निर्माणमा सहयोग गरेर शैक्षिक सुधारका लागि दाता र पहार ट्रसले महत्वपूर्ण योगदान गरेको भन्दै प्रशसा गर्नुभयो । अध्यक्ष पुनले व्यक्तिगत रुपमा विद्यालयलाई पचास हजार रुपैया नगद सहयोग गर्नुभयो ।

व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाको अध्यक्षता, शिक्षक बेदप्रसाद पौडेलको सञ्चालन, शिक्षक बाबुराम पौडेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा स्रोत व्यक्ति जयराम सुवेदी र प्रअ शान्त नेपालीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । कक्षा ११ र १२ को पठनपाठन सञ्चालनका लागि उक्त भवन प्रयोगमा ल्याउने योजना रहेको प्रअ नेपालीले बताउनुभयो । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा ३५८ जना विद्यार्थी छन् ।

यसअघि सरकारी निकाय र समुदायको सहयोगमा आठ कोठे, सात कोठे दुई वटा कक्षाकोठा र नौ कोठे छात्रावास भवन निर्माण भएको थियो । प्रवासीहरुको सहयोगमा खेलमैदान र प्रवेशद्धार निर्माण भएको छ । विद्यालयको ‘शिक्षा विकास अध्यक्षकोष’मा दाना घर भई हाल बेलायतमा बस्नेहरु आवद्ध फ्रेण्डली ब्रर्दश दाना सेरेफेरो यु.के.ले दुई वर्षअघि एक करोड १५ लाख रुपैया उपलब्ध गराएको थियो ।