कोटगाउँमा घुम्ती शिविरबाट २ सय बढी लाभान्वित

  • २ मंसिर २०७५, आईतवार
  • 2577 पटक पढिएको

बेनी १ मंसिर । रघुगंगा गाउँपालिका ६ पाखापानीको कोटगाउँमा शनिबार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । गाउँपालिका र वडा कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट २०६ जनाले गाउँमै सेवा पाएका छन् । जिल्ला प्रशासन कार्यालयको टोलीले ३८ जनालाई नयाँ र ८ जनालाई प्रतिलिपी नागरिकता प्रमाणपत्र वितरण गरेको प्रजिअ लीलाधर अधिकारीले जानकारी दिनुभयो । २३ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । बेनी अस्पतालका चिकित्सकहरुको टोलीले ७१ जनाको निशूल्क स्वास्थ्य परिक्षण, परामर्श र औषधी वितरण सेवा दिएको छ ।

१८ जनाको जन्मदर्ता, २ वटा मृत्यु दर्ता, २३ जना महिला र २३ जना पुरुषको तस्विर सहितको मतदाता नामावली दर्ता भएको छ । शसस्त्र प्रहरीको टोलीले एक वडा एक हेलीप्याड कार्यक्रमका लागि सम्भाव्यता अध्ययन गरेको छ । जिल्ला प्रहरी कार्यालयले विद्यार्थी र युवा युवतीहरुलाई लागू औषध दुब्र्यसनी विरुद्ध प्रशिक्षण दिएको थियो । कोटगाउँ, ठाडाखानी, रायखोर, चिमखोला, दर्मीजा, कुईनेखानी लगायत दुर्गम बस्तीका बासिन्दाले शिविरबाट सेवा लिएका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको सञ्चालनमा भएको कार्यक्रममा शिविरको उद्घाटन गरिएको थियो ।

भौगोलिक विकटताका कारण सदरमुकामका कार्यालयमा पुगेर सेवा लिन नसकेका सर्वसाधारणलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रजिअ अधिकारीले बताउनुभयो । प्रजिअ अधिकारीले सिंहदरबारको अधिकार गाउँघरमा भन्ने नारालाई सार्थक बनाउनका लागी गाउँमा घुम्ती शिविरको आयोजना गरिएको बताउनुभयो । यसअघि धवलागिरी गाउँपालिकाको गुर्जा र लुलाङमा एकिकृत घुम्ती शिवीर सञ्चालन गरेको प्रशासनले अन्य स्थानीय तहहरुसँग पनि समन्वय गरेर शिवीर सञ्चालनको तयारी गरेको छ ।