अन्नपूर्ण गाउँपालिकाको तीन वटा बिधेयक पारित

  • १ मंसिर २०७५, शनिबार
  • 1987 पटक पढिएको

पोखरेबगर १ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शनिबार सम्पन्न आठौ सभासभाबाट तीन वटा बिधेयक पारित भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबारदेखि सुरु भएको गाउँसभा चालू आर्थिक वर्ष २०७५/७६ का लागि थप तीन करोड २७ लाख रुपैयाँ बजेट र तीन वटा बिधेयक पारित गर्दै सकिएको हो । गाउँसभामा पेश भएको सहकारी विधेयक, संस्था दर्ता तथा नविकरण, न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित भएको गाउँ कार्यपालिकाका प्रवत्ता कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

गाउँसभाले ७ नम्बर वडा हिस्तानको केन्द्र महबिर कायम गर्ने वडाको निर्णय र प्रस्ताव अनुमोदन गरेको छ । यसअघि साविक हिस्तान गाविसको कार्यालय औला थियो । सबैलाई पायक पर्ने हिसाबले महबिरमा वडा कार्यालय राख्ने निर्णय गरिएको वडा अध्यक्ष गमबहादुर फगामीले बताउनुभयो । यसैगरी १ नम्बर वडा दोवा र २ नम्बर वडा भुरुङ तातोपानीको सिमाना बिवाद समाधानका लागि जिल्ला अनुसारको सिमाना कायम गर्न प्रदेश र संघीय सरकारमा अनुरोध गर्ने र साझा उपभोक्ता समिति बनाएर सिमा क्षेत्रको वन उपभोग गर्ने निर्णय भएको भुरुङका वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो ।

अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा सञ्चालन भएको गाउँसभामा उपाध्यक्ष केशमाया मगरले गत आर्थिक वर्षमा खर्च हुन नसकेर रहेको तीन करोड २७ लाख रुपैयाँ बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यसअघि गत असारमा भएको गाउँसभाबाट २७ करोड ३८ लाख ७९ हजार ३९ रुपैयाँ बजेट पारित भएको थियो । गाउँसभाले थप बजेट, योजना तथा कार्यक्रम पारित गरेपछि कार्यान्वयनको बाटो खुलेको प्रमुख प्रशासकिय अधिकृत सन्तोष पौडेलले बताउनुभयो । पारित भएका बिधेयक कानुनको रुपमा क्रियाशिल हुने उहाँले बताउनुभयो ।

यसअघि चालीस लाख रुपैयाँ बराबरका योजना तथा कार्यक्रम बनाएका ८ वटा वडालाई थप बीस लाख रुपैयाका दरले बजेट वितरण गरिएको छ । यसैगरी गाउँपालिकाले सञ्चालन गर्ने योजना तथा कार्यक्रमका लागि एक करोड ६७ लाख रुपैया बिनियोजन भएको छ ।