दरवाङ म्याग्दी खोला निर्माणको सुरसार

  • ३० कार्तिक २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • 1848 पटक पढिएको

दुखुबेशी ३० कात्तिक । पश्चिम म्याग्दीको बहुप्रतिक्षित दरवाङ म्याग्दीखोला जलविद्युत आयोजना निर्माणको सुरसार भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले लामो समयको प्रतिक्षापछि २५ मेगावाट क्षमताको आयोजनाको पूर्वाधार निर्माणको तयारी गरेको छ । प्रभावीत क्षेत्रका लगानीकर्ता र प्रर्वद्धकहरुबीचको बिवादका कारण वि.स २०७१ फागुनमा विद्युत विकास विभागबाट जनेरेशन लाइसेन्स पाएको आयोजनाको काम सुरु हुन सकेको थिएन् ।

बिवाद र लगानीको ब्यवस्थापन गरेर सुरुङ, पहुँचमार्ग, बाँध र विद्युतगृह निर्माणको काम सुरु गर्न लागिएको कम्पनीका पदाधीकारीहरुले आयोजना प्रभावित क्षेत्र मालिका गाउँपालिका ६ को दुखुमा बिहीबार आयोजना गरिएको अन्तरक्रियामा जानकारी गराएका छन ।

कम्पनीका उपाध्यक्ष हर्कमान घर्तीमगरले केही दिनमा दुखीबेशी देखि सुरुङको आउटलेट तर्फ जाने पहुँचमार्ग (सडक)को ट्याक निर्माण र विस्तारको काम सुरु गर्न लागिएको जानकारी दिएका थिए ।
‘मंसिरसम्म पहुँचमार्ग बनाउने र अन्य सामाग्री जुटाउने तथा ब्यवस्थापकीय तयारी गर्छाै’ घर्तीले भन्नुभयो ‘पुषदेखि आयोजनाको काम तिब्र रुपमा अघि बढ्छ । यसका लागि समुदाय, स्थानीय तह, सुरक्षा निकाय लगायत सबै सरोकारवालाहरुको साथ, सहयोगको अपेक्षा राखेका छौ ।’
उपाध्यक्ष घर्तीले सिप र क्षमता भएका स्थानीयबासीलाई आयोजनाको काममा रोजगारीका लागि प्राथमिकता दिइने समेत जानकारी दिए । दुखु बेशीको सडकलाई फराकीलो बनाउन लागिएको र त्यहाँदेखि आउटलेट सम्म पुग्ने नयाँ ट्याक बनाइने कम्पनीले जनाएको छ ।

कम्पनीले सामाजिक सहयोग कार्यक्रम अन्तरगत नीतिगत ब्यवस्था अनुसार सामाजिक क्षेत्रमा पनि आयोजनाको योगदान रहने प्रतिवद्धता जनाएको छ । अन्तरक्रियामा मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले दरवाङ म्याग्दीखोला जलविद्युत आयोजना पश्चिम म्याग्दीको विद्युत विकासको प्रवेशद्धार भएको उल्लेख गरेका थिए ।

‘पश्चिम म्याग्दीको विद्युत विकासको आधार मानिएको यो आयोजना छिटो बन्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो’ अध्यक्ष रोकाले भने ‘यसले पश्चिम म्याग्दीमा विद्युत विकासका लागि लगानी भित्र्याउन पनि सकारात्मक सन्देश प्रवाह गराउन सक्नुपर्छ ।’

स्थानीय स्तरमा समन्वय र सहजिकरणमा गाउँपालिकाले सघाउने बताउँदै अध्यक्ष रोकाले स्थानीयको भावना अनुसार वातावरणीय र भौतिक हिसाबले कम क्षती हुने गरेर आयोजनाको पूर्वाधार बनाउन सुझाव दिए ।

वडा अध्यक्ष सन्तोष सुवेदीले स्थानीयबासी आयोजनाप्रती सकारात्मक र सहयोगी भावना भएपनि प्रर्वद्धकहरुको आन्तरिक बिवादका कारण ढिलाई भएकोमा दुख व्यक्त गरे । प्रर्वद्धक र लगानीकर्ताहरुको बिवादले आयोजना निर्माण र समग्र पश्चिम म्याग्दीका जलविद्युत विकासका लागि नकारात्मक सन्देश प्रवाह हुने अवस्था आउन नदिन वडा अध्यक्ष सुवेदीको सुझाव थियो ।
दुखु बेशीका बासिन्दाहरुले आयोजनाका भौतिक संरचना निर्माणका क्रममा वातावरणमैत्री र कम क्षती हुने गरेर काम गर्न सुझाव दिएका स्थानीय अनील मगरले बताए । रोजगारीमा प्राथमिकता दिन, सामुदायीक विद्यालय, भवन, खानेपानी लगायत पूर्वाधार निर्माण, सिपमुलक तालीम र आयआर्जनका गतिबिधिमा सघाउन आयोजनालाई प्रस्ताव गरेका छन् ।

दुखुबेशीका बासिन्दाले आयोजना निर्माणमा सघाउने प्रतिवद्धता पनि जनाएका छन् । गत भदौ ८ गते कम्पनीका अध्यक्ष बिनोद कुँवर र सानीमा बैंकबीच वित्तय व्यवस्थापनका लागि कर्जा लगानी सम्झौता भएको थियो । वित्तिय व्यवस्थापन भएपछि पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको हो ।
आयोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तिनाथ बैंकले अधिकतम ७० प्रतिशत लगानी गर्ने भएका छन् । तिन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले वार्षिक १५ करोड युनिट विद्युत उत्पादन गर्ने जनाइएको छ । आयोजना निर्माण गर्न चार अर्ब ५० करोड रुपैयाँ लगानी आवश्यक पर्ने जनाइएको छ ।

दरवाङ, देविस्थान, ताकम र बिमको सिमा क्षेत्रमा पर्ने फेदीमा बाँध रहने आयोजनाको पाँच किलोमिटर सुरुङ र रातो ढुंगामा विद्युतगृह निर्माण गर्ने प्रस्ताव गरिएको छ । कम्पनीमा नयाँ सञ्चालकहरु भित्रीएर आयोजनालाई अघि बढाउन लागेका हुन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरीयाका पूर्व अध्यक्ष र म्याग्दी प्रवासी नेपाली संघ (मोना)का पूर्व बरिष्ठ उपाध्यक्ष बिनोद कुँवरको नेतृत्वमा आयोजना निर्माण हुन लागेको हो । प्रवासी म्याग्देलीहरुको लगानीमा आयोजना बन्न लागेको हो । स्थानीयबासीहरु पनि लगानीकर्ताका रुपमा रहेका छन् । आयोजना निर्माणको अन्तिम चरणमा पुगेपछि कुल लागतको दश प्रतिशत प्रभावित बासिन्दाका लागि सेयर लगानीका लागि आव्हान गर्नुपर्ने नीतिगत ब्यवस्था छ ।
यस आयोजनाबाट उत्पादीत विद्युत बिमको डाँडाखेत सब स्टेशनबाट केन्द्रिय प्रशारण लाईनमा जोडिने भएको छ । नेपाल विद्युत प्राधिकरणले डाँडाखेतमा सब स्टेशन र त्यहाँदेखि राहुघाटसम्म प्रशारण लाइन निर्माणको प्रक्रिया अघि बढाएको मालिका ७ बिमका वडा अध्यक्ष रेशम जुक्जालीले बताए ।

सन्तोष गौतम