तातोपानीकुण्ड ‘मेडिकल टुरिजमको’ रुपमा विकास हुँदै

  • ३० कार्तिक २०७५, शुक्रबार
  • कमल खत्री
  • 3423 पटक पढिएको

बेनी, ३० कात्तिक । बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात स्वास्थ्य पर्यटनको रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयको रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट विरामीहरु आउने क्रम बढीरहेको सन्दर्भमा उच्च पदमा रहेका व्यक्तिहरु समेत कुण्डमा डुबेर उपचार गराउन आउन थालेपछि यो कुण्ड ‘मेडिकल टुरिजम’को रुपमा विकास हुन थालेको हो । कात्तिक अन्तिम साता पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको नसा सम्बन्धी उपचार समेत यसै तातोपानी कुण्डमा डुबेर गराइएपछि यो कुण्डको महिमा अझ व्यापक भएको छ ।

प्रचण्ड, उनकी पत्नी दाहाल सहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनकी पत्नी नैनकला लगायतको टोलीले तीन दिनसम्म तातोपानी कुण्डमै स्नान गरि फर्किनुभएको छ । नेपाली सेनाको हेलीकप्टर मार्फत बेनी आएका प्रचण्ड सहितको टोलीले बेनी स्थित होटल याकमा बसेर ९ किमी लामो कच्ची सडकबाट ओहोर दोहोर गरि कुण्डमा स्नान गरि प्राकृतिक उपचार गर्नुभएको हो । उनीहरुले तीन दिनमा ८ घण्टा प्राकृतिक तातोपानीलाई जम्मा गरिएको कुण्डमा स्नान गर्नुभएको थियो ।

सिंगापुर लगायतका ठाउँमा पुगेर समेत उपचार गर्दा निको नभएपछि मुलुककै पूर्व प्रधानमन्त्री प्रचण्डपत्नी दाहाललाई तातोपानीमा डुबेर उपचार गराईनुले यस क्षेत्रको बारेमा सकरात्मक सन्देश प्रवाह भएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयो । ‘‘ यस अघि पनि उच्च पदमा रहेका व्यक्तिहरु कुण्डमा उपचारको लागि आउने गरेका थिए, अहिले प्रचण्डपत्नी सीता ज्यूको उपचार संगै प्रचण्ड र गृहमन्त्री ज्यू स्वयम नै म्याग्दीमै बसेर तीन दिन नियमित रुपमा कुण्डमा आएर स्नान गर्नुभयो,यसले यो क्षेत्रको प्रचार प्रसारमा ठुलो योगदान पुगेको हामीले विश्वास लिएका छौँ’’–अध्यक्ष शाक्यले भन्नुभयो ।


जमिनभित्रबाट निस्कने ४५ देखी ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र बिरेनुनको गन्ध आउने यहाँको प्राकृतिक तातोपानीको कुण्डमा शरिरको बाहिरी भाग डुबाएर उपचार गरेमा ग्याष्ट्रीक, नसा, बाथरोग, ढाड दुख्ने, छाला सम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँड, एसाईतिस लगायतका रोगहरु निको हुने मान्यता रहेको छ । तीन दिनसम्म तातोपानी कुण्डमा पत्नी सीताको उपचार गरि फर्कने क्रममा नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री दाहालले स्वास्थ्य उपचार केन्द्रको रुपमा चिनिएको तातोपानी कुण्डलाई ‘मेडिकल टुरिजम’को रुपमा विकास गर्न सकिने बताउनुभयो ।

‘‘ हामीले पहिले सुनेका मात्रै थियौँ, अहिले पत्येक्ष रुपमा आएर आफैले अनुभुती ग¥र्यौ, साँच्चीकै तातोपानी कुण्डमा स्नान गरेपछि स्वास्थ्यमा रहेका समस्याहरु हल हुने विश्वास हामीलाई पनि भयो’’– नेता दाहालले भन्नुभयो । बेनीदेखि कुण्ड सम्म पुग्ने सडकलाई कालोपत्रे गर्ने सुरु भएको योजनालाई प्रभाबकारी बनाउन, कुण्डको पूर्वाधार निर्माण, क्षमता विस्तार र थप व्यवस्थित बनाउन सक्दो पहल गर्ने दाहालले प्रतिबद्धता जनाउनुभएको छ । पारिवारीक विश्रामको लागि म्याग्दी आएपनि यहाँको छलफल, अवलोकन र भ्रमण उपलब्धीमुलक रहेको गृहमन्त्री थापाको प्रतिकृया छ ।

‘‘ जमिनबाट निस्कने तातोपानीको महिमा अत्यन्तै बढी रहेको अनुभुति ग¥र्यौ, यसलाई विकास र प्रचार प्रसार गर्न सकेमा यहाँ स्वदेशका मात्रै होइन विदेशबाट समेत स्वास्थ्य उपचारको लागि विरामी र पर्यटकहरु भित्र्याउन सकिने सम्भावना छ, हाम्रो जोड यसैमा रहन्छ’’– मन्त्री थापाले भन्नुभयो । उहाँले म्याग्दी हिमाल, पहाड, मनोरम भु बनोट संगै धार्मिक, कृषि र ग्रामीण पर्यटनको दृष्टिकोणमा समेत महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उत्तरदक्षिण जोड्ने कालिगण्डकी करिडोर र कोरला नाका सञ्चालनमा आएमा बेनीसंगै सिंगो म्याग्दी ‘चोकको घडेरी’ हुने उहाँको भनाई थियो ।
                          यसरी हुन्छ उपचार

बेनीदेखि ९ किमी टाढाको दुरीमा रहेको तातोपानीमा म्याग्दी नदीको किनारमा जमिनभित्रबाट ४५ देखी ५७ डिग्री सेल्सियस तापक्रम भएको पानी निस्कन्छ । गन्धक र बिरेनुनको गन्ध आउने प्राकृतिक तातोपानीको कुण्डमा शरिरको बाहिरी भाग डुबाएर उपचार गरिन्छ । कुण्डमा डुबेपछि बाही निस्कीएर कम्बल वा बाख्लो कपडा ओढेर पसिना बगाएपछि नजीकै बनाईएका तातोपानीका धारामा नुहाउने गरिन्छ ।यस कुण्डमा नियमित नुहाउनाले ग्याष्ट्रीक, नसा, बाथरोग, ढाड दुख्ने, छाला सम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनीने, गलगाँड, एसाईतिस लगायतका रोगहरु निको हुने तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्य बताउँछन् ।

‘‘ यहाँ आएर डुबेर उपचार गरि रोग निको हुने भएपछि विरामी संगै उच्च पदमा रहेका व्यक्तिहरु आउनेक्रम बढेको छ, हामीले यो कुण्डलाई अझै व्यवस्थित बनाउने योजना बनाएका छौँ’’–अध्यक्ष शाक्यले भन्नुभयो । कुण्ड व्यवस्थापन समितिका सह–सचिब कुमार केसीका अनुसार– अहिले कुण्डमा २५० जनाले नियमित रुपमा डुबेर उपचार गर्दै आएका छन् । ‘‘सल्फर र गन्धकको मात्रा रहेकाले यो कुण्डमा स्नान गर्नेहरुको एक जनाको रोग अर्कोमा सर्दैन, पानीको गुणबारे थप अनुसंधानो लागि पानी परिक्षण समेत भएको छ’’– सह–सचिब केसील भन्नुभयो ।

यो कुण्डमा स्नान गरेपछि रोगहरु निको हुने भउपछि मूलुकका विभिन्न स्थानबाट एक हप्तादेखि १५ दिन सम्मको प्याकेजमा कुण्डमा स्नान र डुब्नको लागि आउनेहरुको संख्या प्रत्येक बर्ष बढ्दै गएको छ । गत बर्ष १६ हजार ९७८ जनाले यस कुण्डमा आएर स्नान गरि उपचार गरेका छन् । त्यस्तै अवलोकन र भ्रणको लागि ५ हजार बढी आएको सचिब केसीको भनाई छ । कुण्डमा लडेर , नसा, युरिक एसिड लगायतको कारण हिँड्न समेत नसक्ने भएर सहयोगीको भरमा उपचारको लागि स्नानको लागि आउनेहरु कुण्डमा डुबेर उपचार गरेपछि आफै हिँडडुल गर्न सक्ने भएर फर्कने गरेका छन् । यस कुण्डमा स्नान गर्नको लागि १० दिनको लागि रु ३०० शुल्क तिर्नुपर्छ । कुण्डबाट भएको आम्दानीबाट स्थानीय सरस्वती माविका ९ जना शिक्षकहरुको तलब सुविधा उपलब्ध गराईन्छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l