तरकारी खेतीप्रती आकर्षित

  • ३० कार्तिक २०७५, शुक्रबार
  • 2041 पटक पढिएको

बेनी ३० कार्तिक । बेनी नगरपालिका ५ मा पर्ने कुडुले, कुमाल्नी, सेतोढुङ्गा, फुर्केसल्लाका बासिन्दाहरु ब्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।सडक, सिचाँईको सुबिधा र बजारमा पहुँचमा वृद्धी भएसँगै स्थानीय कृषकहरु ब्यसायिक तरकारी खेती मार्फत आयआर्जनतर्फ अग्रसर भएका हुन् । महारानी कृषक समूह गठन गरेर कृषि प्रबिधि भित्र्याएका छन् ।

सदरमुकाम बेनी नजिक भएकाले तरकारीले बजार पाउन थालेपछि पहिले घरायसी उपभोगका लागि मात्र तरकारी लगाउने स्थानीयबासीहरु केही वर्षयता ब्यवसायिक बनेका समूहका अध्यक्ष गिरेन्द्र बानियाले बताए । सो टोलमा करीब साठी घरधुरीको बसोबास छ । एक दर्जनजती कृषकले ब्यवसायिक तरकारी खेती सुरु गरेका छन् । आलु, बन्दा, काउली, अदुवा, साग, मुला, गाजर, खुर्सानी, सिमी, गोलभेडा प्रजातीका मौसमी र बेमौसमी तरकारी बिक्री गरेर आयआर्जन समेत गरेका छन् ।

स्थानीय कृषक मुक्ति खड्काका अनुसार दुई वर्षअघि तत्कालिन जिल्ला विकास समितिको चार लाख ५० हजार रुपैया सहयोगमा १२० मिटर नहर बनाएर सिचाइ आयोजना निर्माण गरेपछि कृषकहरुलाई सुबिधा पुगेको छ ।सिचाई सुबिधा विस्तारका लागि यस वर्ष गण्डकी प्रदेश सरकारबाट पचास लाख रुपैया बिनियोजन भएको कृषक खड्काले बताए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र कृषि विकास कार्यालयको सहयोगमा हाइटेक प्रबिधिको पलास्टीक घर बनाएर तरकारी खेती गरेका छन् ।

उत्पादीत तरकारीले उचित बजार मूल्य पाउन नसकेको र रोगकिरा नियन्त्रणका लागि प्राबिधिक सहयोगको आवश्यकता रहेको कृषकहरुको भनाई छ ।