ताकममा आँखा शिविर सुरु

  • ३० कार्तिक २०७५, शुक्रबार
  • 2129 पटक पढिएको

गोपाल आचार्य
ताकम २९ कात्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा बिहीबार देखि निशूल्क आँखा शिविर सुरु भएको छ । हिमालयन आँखा अस्पताल पोखाराको प्राविधिक सहयोग, धवलागिरी गाउँपालिका, ताकम स्वास्थ्य चौकी र धवलागिरी जनयुवा क्लव ताकमको आयोजनामा शिविर सुरु भएको हो । होल्याडका बिशेषज्ञ चिकित्सकहरुको टोलीले सेवा दिने मंसिर २ गतेसम्म सञ्चालन हुने शिवीरको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो ।

अध्यक्ष पुनले दुर्गम र विकट क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाका बासिन्दाहरुलाई गाउँमा आँखा उपचार सम्बन्धि सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँले सेवा, सुबिधामा गाउँपालिकाबासीको सहज पहुँच स्थापित गराउन प्रयास गरिएको बताउनुभयो ।

यसै महिना गुर्जा र लुलाङमा प्रशासन कार्यालयको नेतृत्वमा एकिकृत घुम्ती शिवीर सञ्चालन गरेको गाउँपालिकाले गत वर्ष मुनामा बृहत स्वास्थ शिविर सञ्चालन सञ्चालन गरेर सेवा दिएको थियो । शिविरमा आँखा परिक्षण, परामर्श, औषधी वितरण र निशूल्क शल्यक्रियाको समेत ब्यवस्था गरिएको छ ।
ताकम, मुना, मुदी, गुर्जा, लुलाङ, मराङ, मल्कवाङका साथै मालिका, मंगला र बेनी नगरपालिकाका नागरिकहरु समेत सेवा लिनका लागि शिविरमा आएका छन् । ८८ वर्षकी तिलकुमारी सुवेदीको स्वास्थ्य परिक्षण गरेर शिविरको उद्घाटन गरिएको थियो । होल्याडका टमको नेतृत्वमा स्वास्थ्यकर्मीहरु सेवाका लागि आएका छन् ।

स्वास्थ्यकर्मीहरुको टोलीलाई ताकमबासीले भब्य स्वागत गरेका थिए । पहिलो दिन २९४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । शल्यक्रिया गर्नुपर्ने ३६ जना मोतीया बिन्दुका बिरामी पहिचान भएका छन् । होल्याडका स्वास्थ्यकर्मीहरुको टोलीले ताकम स्वास्थ्य चौकीलाई केही उपकरणहरु पनि सहयोग गरेका छन् ।