रघुगंगामा विद्युतीय शुसासन, वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान सुरु

  • २९ कार्तिक २०७५, बिहीबार
  • 1835 पटक पढिएको

बेनी २९ कार्तिक । म्याग्दीको रघुगंगा गाउँपालिकाले विद्युतीय शुसासनको अभ्यास गरेको छ । शिक्षक, कर्मचारीहरुको कार्यालयमा नियमित उपस्थिती र नियमन गरी सेवा प्रवाहलाई सहज बनाउन विद्युतीय हाँजीरी मेसीन प्रयोगमा ल्याएको हो । गाउँ कार्यपालिका, दग्नाम स्थित ४ नम्बर वडा कार्यालय र स्वास्थ्य चौकीमा विद्युतीय हाँजीरी मेसीन जडान गरेर सोमबारदेखि प्रयोगमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

मंगलबार पिप्ले स्थित ३ नम्बर वडा कार्यालयमा जडान गरिएको विद्युतीय हाँजिरी मेसिनको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले शुभारम्भ गर्नुभएको थियो । गाउँपालिकाको सबै वडा कार्यालय, स्वास्थ्य चौकी र माध्यमिक विद्यालयहरुमा विद्यतीय हाँजीरी मेसीन जडान गरिने प्रशासकीय अधिकृत थापाले बताउनुभयो ।

आठ वटा वडा रहेको रघुगंगामा आठ वटै स्वास्थ्य चौकी र नौ वटा मावि छन् । शिक्षक, कर्मचारीमा समयको नियमित पालना गराई शैक्षिक गुणस्तर र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले विद्युतीय हाजिरी मेसीन प्रयोगमा ल्याइएको प्रशासकीय अधिकृत थापाले बताउनुभयो ।  हाँजिरी मेसीन जडान भएपछि कार्यालय प्रमुख र कर्मचारीहरुबीचको द्वन्द्व न्युनीकरण हुने समेत उहाँको भनाई छ । २७ वटा विद्युतीय हाजिरी मेसिन खरिद गरिएको थियो ।

कार्यालय समयमा शिक्षक र कर्मचारी सेवा स्थलमा नबस्ने समस्या न्युनीकरण र नियमनका लागि प्रबिधिको प्रयोग प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष भण्डारीले बताउनुभयो । विद्युतीय हाँजिरी मेसीन भएपछि तोकिएको समयमा कार्यलय तथा विद्यालयमा रहेर आफ्नो काम गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ । यसअघि मालिका गाउँपालिकाले विद्युतीय हाजीरी मेसीन प्रयोगमा ल्याएको थियो ।

यसैबीच रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रम बर्खा अघिनै कार्यान्वयन गरी असारे विकासको प्रवृति अन्त्यका लागि पहल गरेको छ । वडा स्तरमा उपभोक्ता समिति गठन गरी उनिहरुलाई योजना ब्यवस्थापन र कार्यान्वयनका विषयमा अनुशिक्षण दिन थालिएको सूचना तथा सामाजिक विकास अधिकृत पदम भण्डारीले बताउनुभयो ।

झिँ र बेगका उपभोक्ता र जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिसकिएको छ । अन्य वडामा पनि यसै महिनाभित्र उपभोक्ता समिति गठन र अभिमुखीकरण सक्ने गाउँपालिकाको लक्ष्य छ । आर्थिक वर्षको अन्तमा हतार–हतार काम गर्दा बजेट दुरुपयोग, दिगो काम नहुने र अनियमितताको खतरा हुने भएकाले चैत महिना अघिनै पूर्वाधार योजनाको काम सक्ने गरी तयारी गरिएको गाउँपालिकाका प्राबिधिक कमल चोखालले बताउनुभयो ।