पार्टी एकता छिट्टै निष्कर्षमा पुग्छ : अध्यक्ष दाहाल, जनादेश अनुसार सरकार अघि बढ्छः गृहमन्त्री थापा

  • २८ कार्तिक २०७५, बुधबार
  • 1531 पटक पढिएको

बेनी २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता छिट्टै निष्कर्षमा पुग्ने बताउनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले आज बेनीमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले अब बस्ने बैठकले प्रदेश, जिल्ला र स्थानीय तह सम्मकै एकताको कामलाई सम्मन्न गर्नेगरि गृहकार्य भैरहेको जानकारी दिनुभयो ।

‘‘ पार्टी एकताको काम केही ढिला भएकै हो , पार्टी संगठन देखि जनबर्गिय संगठनको एकताबारे गृहकार्य करिब सकिएको छ, अब केही दिनमै पार्टी एकताको प्रकृयाले नतिजा ल्याउँछ, एकताबाट दायाँ–बायाँ गर्न सक्ने कुनै ठाउँ नै छैन्’’– दाहालले भन्नुभयो । मुलुकलाई राजनितीक स्थायीत्व मार्फत विकास र समृद्धि दिनको निम्ती दुई ठुला कम्युनिष्ट पार्टी एक भएको चर्चा गर्दै उहाँले पार्टीलाई सुदृढ बनाउने धारणा राख्नुभयो ।

‘‘ लामो इतिहाँस र ठुलो संघर्षबाट आएका दुई पार्टी एक हुनु आफैमा ऐतिहाँसिक परिघटना हो, समाजबादको बाटोमा पार्टी अघि बढ्छ, सरकारका कामकारबाही त्यसैदिशामा उत्मुख छन्’’–नेता दाहालले भन्नुभयो । सरकारको काम जनअपेक्षा अनुसार नभएको गुनासाहरु आइरहेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता दाहालले सरकारले समेत जनताको पक्षमा काम गर्न अनुकुल वातावरण बन्दै गएको बताउनुभयो ।

बर्षात र चाडपर्वको समय सकिएकाले वर्तमान सरकारको गति अब प्रभाबकारी ढंगले बढ्ने उहाँले विश्वस्त तुल्याउनुभयो । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको मुस्ताङ र चिनको सिमानामा पर्ने कोरला नाकालाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन पूर्वाधार निर्माणसंगै सरकार र पार्टीको तर्फबाट समेत कुटनितीक पहल भैरहेको जानकारी दिनुभयो ।


सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले मुलुकको अबको यात्रा आर्थिक विकास, समृद्धि र सुशासन कायममा केन्द्रित भएको बताउनुभयो । उहाँले जनताको जनादेश विपरित सरकार अघि नजाने स्पष्ट पार्दै जनताकै म्याण्डेट अनुसार विकास र समृद्धिको बाटोमा सरकारले आबश्यक कार्यहरु अघि बढाएको बताउनुभयो ।
प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, सचिब सन्दिप खत्रीको स्वागत र प्रेस चौतारी म्याग्दीका सचिब प्रताब बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसा सम्बन्धि रोगबाट पिडित दाहालपत्नी सीताको उपचार र म्याग्दीको स्थगतल अवलोकनको शिलसिलामा गत सोमबार म्याग्दी आउनुभएका अध्यक्ष दाहाल र गृहमन्त्री थापा आज काठमाण्डौ फर्कनुभएको छ ।