सहिद परिवारलाई भेट्न सिमलचौरमा पुगे प्रचण्ड र बादल (भिडियो सहित)

  • २८ कार्तिक २०७५, बुधबार
  • कमल खत्री
  • 2410 पटक पढिएको

म्याग्दी २८ कात्तिक । मंगला गाउँपालिका–२ सिमलचौरकी सहिद परिवारकी गुमा कुमारी खड्काले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापालाई पहिलो पटक आमने सामने भेट्ने अवसर पाईन् । तत्कालिन माओवादी जनयुद्धमा होमिएर परिवारका दुई सदस्य गुमाएकी ५५ बर्षिय खड्कालाई आफ्नै गाउँमा तत्कालिन जनयुद्धका सर्वोच्च कमाण्डरहरुलाई मंगलवार मात्रै भेट्ने अवसर जुरेको हो ।

पत्नी सीता दाहालको नसा सम्बन्धी रोगको तातोपानी कुण्डमा स्नान गरि उपचार गर्न म्याग्दी आएका नेता दाहाल र कुण्डमै स्नानको लागि पारिवारिक भ्रमणमा आएका गृहमन्त्री थापा सिमलचौरमै पुगेर सहिद परिवार खड्कालाई भेट गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पार्टी सदस्य लिएका गुमाका पती नन्द बहादुर खड्कालाई २०५९ भदौ २ गते म्याग्दीकै कुहुँ र उनकी छोरी सिर्जनालाई २०५८ चैत १३ गते शिखमा गिरप्तार गरि तत्कालिन राज्य पक्षबाट हत्या भएको थियो ।

‘‘जनयुद्धमा होमीएर हामीले परिवारका सदस्य गुमायौँ, तर मुलुक संघिय गणतन्त्रमा रुपान्तरण भयो, परिवर्तनको लागि नेतृत्व गर्ने नेताहरुलाई पहिलो पटक भेट्न पाउँदा खुसी लाग्यो, अब जनताको लागी विकास दिनसक्नुपर्छ नेताहरुले’’– खड्काले भनीन् । स्थानीय अगुवा कार्यकर्ता भेटघाटको क्रममा सहिद परिवारकी सदस्य खड्कालाई नेताद्धय दाहाल र थापाले बिचमा राखेका थिए । खड्काको घरमा गृहमन्त्री थापा तत्कालिन मोटो मसालमा आबद्ध रहँदा २०४३ सालमा कम्युनिष्ट आन्दोलनको अभियान लिएर पुगेका थिए । दशकौँ बर्षपछि पुन सोही ठाउँमा जनयुद्धमा ज्यान गुमाएका सहयात्रीको परिवारलाई भेट्दा गृहमन्त्री थापा भावुक भएका थिए ।

‘‘हामीमाझ सहिद परिवारका सदस्यहरु पनि हुनुहुन्छ, परिवर्तनको निम्ती उहाँहरुको योगदान अतुलनिय छ, हामी परिवर्तनलाई संस्थागत गरेरै अगाडी बढ्छौँ’’–नेकपा अध्यक्ष दाहालले भने । पूर्व प्रधानमन्त्री समेत रहेका नेता दाहालले लामो संघर्ष र ठुलो बलिदानीले मात्रै स्थानीय, प्रदेश र संघिय गरि तीन तहको सरकारको परिकल्पनाले सार्थकता पाएको बताए । ‘‘ यो सामान्य राजनितीक परिवर्तन मात्रै नभएर बर्षौदेखिको सिस्टममै आएको परिवर्तन हो, अहिले कर्मचारी व्यवस्थापन नटुंगीएकाले केही जटिलता देखिएका छन, तर कुनैपनि हालतमा सिंहदरबारको अधिकार गाउँघरमै पुग्छ’’–अध्यक्ष दाहालले भने ।

कर्मचारी समायोजन र आबश्यक ऐन निर्माणले पूर्णता पाएपछि स्थानीय सरकारहरुले कर्मचारी र अधिकारको लागि माग गरिराख्न नपर्ने उनको भनाई छ । प्राकृतिक स्रोत र साधन व्यवस्थापन सम्बन्धी आयोग निर्माणपछि व्यवहारमै सिंहदरबारको अधिकार गाउँमा पुग्ने र त्यसले मात्रै संघियता बलियो हुने उनको भनाई छ ।  पत्नी सिता दाहालको नसा सम्बन्धी समस्यालाई तातोपानी कुण्डमा स्नान गरि उपचार गर्न यहाँ आएका दाहालले तातोपानी क्षेत्रलाई नेपालकै स्वास्थ्य पर्यटनको रुपमा विकास गर्न सकिने बताए । बेनी–दरबाङ सडक कालोपत्रे गर्ने योजना आफु प्रधानमन्त्री भएकै समयदेखि सुरु भएको स्मरण गर्दै उनले अहिले योजनामा भएको ढिलासुस्तीलाई हटाउन काठमाण्डौ फर्किएलगत्तै आबश्यक पहल थाल्ने प्रतिबद्धता समेत जनाए ।
                                                 स्थानीयको मागैमाग
मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाको सम्भावना र समस्याहरुको बारेमा अवगत गराउँदै दिर्घकालिन योजनाहरु नेकपाका अध्यक्ष दाहाल र गृहमन्त्री थापा समक्ष पेश गरेका छन् । उनले कर्मचारी नहुँदा स्थानीय सरकारको काम प्रभावित बनेको बताउँदै तत्कालै कर्मचारीको व्यवस्थापनमा जोड दिन अनुरोध गरे । त्यस्तै मंगला माविका प्रअ गम बहादुर खत्रीले प्राविधिक शिक्षा सञ्चालनको योजनाको मागपत्र अध्यक्ष दाहाललाई प्रस्तुत गरेका थिए । मंगलवार नै तातोपानी कुण्डको आम्दानीबाट मावि तह सञ्चालन हुँदै आएको सरस्वती माविले आफ्ना समस्याहरु नेताद्धय दाहाल र थापा समक्ष राखेका थिए ।

                                             निरिक्षण र अवलोकनमा व्यस्त
नेकपाका अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले मंगलवार विहान गलेश्वर मन्दिर, म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना, बेनी–जोमसोम–कोरला सडक, बेनी बजारमा कलिगण्डकी नदीले गरेको कटान लगायतको स्थलगत अवलोकन गरेका छन् । बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसा सम्बन्धि रोगबाट पिडित दाहालपत्नी सीताको उपचारको शिलसिलामा सोमबार म्याग्दी आएका अध्यक्ष दाहाल सहित गृहमन्त्री रामबहादुर थापा र उनकी पत्नी नैनकला सहितको टोलीले बुधवार सम्म तातोपानीमा डुबेर स्नान गर्ने कार्यतालिका छ । बुधवार जिल्ला स्थित नेकपाका कार्यकर्तासंग भेटघाट, उद्योगी व्यवसायिसंग छलफल लगायतका कार्यक्रम तय भएको नेकपाका नेता तथा पूर्व सभासद गोविन्द पौडेलले जानकारी दिए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l