सिंहदरबार गाउँमै आउँछः नेकपाका अध्यक्ष प्रचण्ड

  • २७ कार्तिक २०७५, मंगलवार
  • 2947 पटक पढिएको

बेनी २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी ९(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबार गाउँघरमै आएर छाड्ने उद्घोष गर्नुभएको छ । मंगला गाउँपालिका–२ सिमलचौरमा मंगलबार स्थानीय अगुवा कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानमा उल्लेख भए बमोजिम जनताको सेवा र सुविधाको लागि सिंहदरबारको अधिकार स्थानीय सरकार मार्फत गाउँमै आउने बताउनुभयो ।

कर्मचारी समायोजन र आबश्यक ऐन निर्माणले पूर्णता पाएपछि स्थानीय सरकारहरुले कर्मचारी र अधिकारको लागि माग गरिराख्न नपर्ने उहाँको भनाई छ । ‘‘स्थानीय तहहरु अहिलेपनि सिद्धानत सरकार नै हुन्, अब प्राकृतिक स्रोत र साधन व्यवस्थापन सम्बन्धी आयोग बन्दैछ, व्यवहारमै सिंहदरबारको अधिकार गाउँमा पु¥याउन सकेमात्रै संघियता बलियो हुन्छ’’–अध्यक्ष दाहालले भन्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता दाहालले स्थानीय, प्रदेश र संघिय गरि तीन तहको सरकार बन्नु सामान्य राजनितीक परिवर्तन मात्रै नभएर बर्षौदेखिको सिस्टम नै परिवर्तन भएको धारणा राख्नुभयो । उहाँले अहिले कतिपय कार्यालय दुई ÷तिन जिल्लालाई समावेश गरि राखेर अधिकार खोसिएको गुनासाहरु आईरहेको उल्लेख गर्दै यस्ता कार्यालयहरु दिर्घकालिन नभएर छोटो अबधिको लागि मात्रै रहेको उल्लेख गनुभयो ।

पत्नी सिता दाहालको नसा सम्बन्धी समस्यालाई तातोपानी कुण्डमा स्नान गरि उपचार गर्न यहाँ आउनुभएका दाहालले तातोपानी क्षेत्रलाई नेपालकै स्वास्थ्य पर्यटनको रुपमा विकास गर्न सकिने बताउनुभयो । बेनी–दरबाङ सडक कालोपत्रे गर्ने योजना आफु प्रधानमन्त्री भएकै समयदेखि सुरु भएको स्मरण गर्दै उहाँले अहिले योजनामा भएको ढिलासुस्तीलाई हटाउन काठमाण्डौ फर्किएलगत्तै आबश्यक पहल थाल्ने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले बावियाचौरमा कृषि प्राविधिक शिक्षालयको लागि समेत आफुले सक्दो पहल गर्ने बचन दिनुभयो ।

सो अवसरमा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाको सम्भावना र समस्याहरुको बारेमा अवगत गराउँदै दिर्घकालिन योजनाहरु माग गर्नुभएको थियो । त्यस्तै मंगला माविका प्रअ गम बहादुर खत्रीले प्राविधिक शिक्षा सञ्चालनको योजनाको मागपत्र अध्यक्ष दाहाललाई प्रस्तुत गर्नुभएको थियो भने शहरी जीवनको अनुभब संगालेर गाउँमै व्यवसायिक बनेका केडी कटेजका सञ्चालक अशोक शर्मासंग समेत अध्यक्ष दाहालले भालाकुसारी गर्नुभएको थियो ।

सो कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाको समेत उपस्थिती रहेको थियो । अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले मंगलवार विहान गलेश्वर, म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना, बेनी–जोमसोम–कोरला सडक, बेनी बजारमा कलिगण्डकी नदीले गरेको कटान लगायतको स्थलगत अवलोकन गर्नुभएको थियो ।

बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसा सम्बन्धि रोगबाट पिडित दाहालपत्नी सीताको उपचारको शिलसिलामा सोमबार म्याग्दी आउनुभएका अध्यक्ष दाहाल सहित गृहमन्त्री रामबहादुर थापा र उहाँकी पत्नी नैनकला सहितको टोलीले बुधवार सम्म तातोपानीमा डुबेर स्नान गर्ने कार्यतालिका छ ।