धार्मिक पर्यटकीय स्थल गलेश्वरमा नेकपाका अध्यक्ष दाहालद्धारा अवलोकन (फोटो फिचर)

  • २७ कार्तिक २०७५, मंगलवार
  • कमल खत्री
  • 3348 पटक पढिएको

बेनी २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयको अवलोकन गर्नुभएको छ । बेनी नगरपालिका–९ मा अवस्थित धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसीत भैरहेको गलेश्वरमा पुगेर आज विहान अध्यक्ष दाहाल र गृहमन्त्री रामबहादुर थापाको टोलीले अवलोकन भ्रमण गर्नुभएको हो ।

सो क्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री थापाले गलेश्वरमन्दिरको दर्शन समेत गर्नुभएको थियो । ९ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित रहेको गलेश्वर मनिदर संगै ढुंगामाथि कहिल्यै नसुक्ने जलकुण्ड, चट्टानमाथि पलाएका शिला लगायतको समेत अवलोकन गराईएको थियो ।

धार्मिक पर्यटकीय गन्तव्य स्थलको रुपमा रहेको गलेश्वरको महत्वबारे गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष रुद्रबहादुर केसी र मन्दिरका पण्डित भिमनाथ पराजुलीले जानकारी गराउनुभएको थियो । मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वरको ऐतिहाँसिक महत्व र यहाँको समस्याबारे जानकारी लिन अवलोकन भ्रमण गरिएको अध्यक्ष दाहालका निजी सचिब जोगबहादुर महराले जानकारी दिनुभयो ।

‘‘यहाँको अलौकीक मान्यताबाट अध्यक्ष ज्यू निकै प्रभावित हुनुभएको छ, गलेश्वरको महिमालाई अझ व्यापक बनाउनुपर्ने उहाँको बुझाई रह्यो,’’– महराले भन्नुभयो । आन्तरिक तथा बाह्य भक्तजन र पर्यटकहरुको समेत रोजाईमा पर्न थालेको गलेश्वरमा मुलुककै उच्च पदमा रहेका व्यक्तिहरुको भ्रमणले यहाँको महिमालाई बढाउन थप सहयोग पुग्ने गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष केसीले बताउनुभयो ।


सो अवसरका कोषले अध्यक्ष दाहाल र गृहमन्त्री थापालाई सम्मान समेत गरेका थिए । अध्यक्ष दाहाल र गृहमन्त्री थापाले आज विहान म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना, बेनी–जोमसोम–कोरला सडक, बेनी बजारमा कलिगण्डकी नदीले गरेको कटान लगायतको स्थलगत अवलोकन गर्नुभएको छ ।


बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसा सम्बन्धि रोगबाट पिडित दाहालपत्नी सीताको उपचारको शिलसिलामा सोमबार म्याग्दी आउनुभएका अध्यक्ष दाहाल सहित गृहमन्त्री रामबहादुर थापा र उहाँकी पत्नी नैनकला सहितको टोलीले आज दुई पटक तातोपानीमा डुबेर स्नान गर्ने तयारी छ ।

तस्बीर कमल खत्री, ठाकुर प्रसाद अाचार्य 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l