झिँको महेन्द्र माविका लागि देउसीभैलोबाट तीन लाख ७१ हजार रुपैया संकलन

  • २६ कार्तिक २०७५, सोमबार
  • 1925 पटक पढिएको

बेनी २६ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिँमा रहेको महेन्द्र माध्यमिक विद्यालयको सहयोगका लागि स्थानीयबासीले तिहार पर्वको अवसरमा देउसी भैलो खेलेर करिब पौने चार लाख रुपैया संकलन गरेका छन् । विद्यालयको सेवा क्षेत्रमा तिहार पर्वको अवधिमा खेलीएको देउसी भैलोबाट तीन लाख ७१ ह्जार २० रुपैया सहयोग संकलन भएको प्रअ याम शेरपुञ्जाले सोमबार जानकारी दिनुभयो ।

विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका पदाधीकारी र अभिभावकहरुको सहभागितामा देउसी भैलो खेलीएको थियो । संकलित रकम विद्यालयको भौतिक पूर्वाधार विस्तार र निजी स्रोतका शिक्षकको तलबभत्तामा परिचालन हुने प्रअ शेरपुञ्जाले बताउनुभयो । कक्षा दश सम्मको पठनपाठन हुने महेन्द्र माविमा २४५ जना विद्यार्थी छन् ।

निजी स्रोतका दुई जना शिक्षक छन् । कम्प्युटर र बालकक्षा सहयोगी कार्यकर्तालाई अतिरिक्त कक्षामा पढाएवापत थप भत्ता उपलब्ध गराउने गरिएको छ । निजी स्रोतका शिक्षकको तलबभत्ताका लागि वार्षिक साढे पाँच लाख रुपैया आवश्यक पर्छ । उक्त विद्यालयले कम्प्युटर विषयको पठनपाठन पनि सञ्चालन गरेको छ ।