म्याग्दी र रत्ननगरका उद्योगी ब्यापारीहरुबीच पर्यटन प्रर्वद्धनको विषयमा छलफल

  • २६ कार्तिक २०७५, सोमबार
  • 1438 पटक पढिएको

बेनी २६ कात्तिक । म्याग्दी र चितवनको रत्ननगरका उद्योगी ब्यापारीहरुबीच सोमबार बेनीमा आन्तरिक पर्यटन प्रर्वद्धनका विषयमा अनुभव आदानप्रदान र अन्तरक्रिया भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको कार्यालयमा भएको अन्तरक्रियाका क्रममा पर्यटन विकासका लागि स्वेदशी पर्यटकहरुको पनि महत्वपूर्ण भुमिका रहने बताउँदै पूर्वाधार विकास, प्रचारप्रसार र ब्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन् ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको नेतृत्वमा आएको टोलीलाई म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जिल्लाका पर्यटकीय स्थलको बारेमा जानकारी गराउदै म्याग्दी भ्रमण वर्ष २०७५ को निम्तो गर्नुभएको थियो । रेग्मी र रत्ननगरका पूर्व अध्यक्ष गोपाल कर्माचार्यले सौराह, चितवन राष्ट्रिय निकुञ्ज लगायत चितवनका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

कात्तिक दोस्रो साता म्याग्दी उद्योग वाणिज्य संघको टोली चितवन पुगेर म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा म्याग्दीका पर्यटकीय स्थल घुम्नका लागि निम्तो दिएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले सञ्चालन र बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले समापन गर्नुभएको कार्यक्रममा पूर्व अध्यक्ष प्रमोद श्रेष्ठ, जिवनबहादुर विश्वकर्मा, कुबिर श्रेष्ठ लगायत पदाधीकारीहरुको पनि उपस्थिती रहेको थियो ।