प्रचण्डपत्नी सीताको उपचार तातापानी कुण्डमा, प्रचण्ड र गृहमन्त्री थापा समेत सहभागी (फोटो फिचर)

  • २६ कार्तिक २०७५, सोमबार
  • 4132 पटक पढिएको

म्याग्दी, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्नी सीता दाहालको तातोपानी कुण्डमा डुबेर उपचार गराउन सुरु गरिएको छ । बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसा सम्बन्धि रोगबाट पिडित प्रचण्डपत्नी दाहालको उपचार गराउन ल्याईएको हो । तातोपानीको कुण्डमा डुबेर प्राकृतिक उपचार विधि मार्फत सिताको उपचार गराउन प्रचण्ड समेत यहाँ आउनुभएको छ । सोमबार दिउँसो हेलीकप्टर मार्फत अर्थुङ्गे स्थित नेपाली सेनाको गणमा अवतरण गराईएपछि सवारी साधन मार्फत ९ किमी लामो कच्ची सडकबाट बेनी हुँदै दाहाल दम्पती तातोपानी कुण्डमा पुग्नुभएको थियो ।

सो टोलीमा गृहमन्त्री रामबहादुर थापा र उहाँकी पत्नी नैनकला थापा, प्रचण्डकी छोरी गंंगा दाहाल लगायत सहभागी छन् । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानी कुण्डमा शरिरको बाहिरी भाग डुबाएर सिताको उपचार गराउन सुरु गरिएको छ । सितालाई यस अघि सिंगापुर लगेर उपचार गरिएको थियो । ‘‘ यो पारिवारीक भ्रमण हो, तातोपानी कुण्डमा स्नान गरेमा नसा सम्बन्धी समस्या हल हुने थाहा पाएपछि यहाँ आईएको हो’’ प्रचण्डका निजी सचिब जोगबहादुर महराले भन्नुभयोे ।

पहिलो दिन सिता सहितको टोलीले नै तातोपानी कुण्डभित्र करिब साढे १ घण्टा शहिरको बाहीरी भाग डुबाएर स्नान गर्नुभएको छ । उहाँलाई बेनी स्थित होटल याकमा बसेर केही दिन नियमित रुपमा कुण्डमा पुगेर स्थान गरि उपचार गराईने व्यवस्था मिलाईएको छ । पत्नीको उपचारको शिलसिलामा म्याग्दी आएका प्रचण्डको पारिवारिक भ्रमण भएपनि कार्यकर्ता भेटघाट लगायतका कार्यक्रम समेत तय गरिएको नेकपाका नेता एवम् पूर्व साँसद गोविन्द पौडेलले जानकारी दिनुभयो ।

नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाका परिवारका अन्य सदस्यहरु समेत सहभागी सो टोली तिन दिनसम्म म्याग्दीमै रहनुहुनेछ । सो क्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिले पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्ड, गृहमन्त्री थापा सहितको टोलीलाई स्वागत गरेका थिए । नेकपाका नेताहरुले समेत बेनी स्थित होटल याकमा अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापालाई स्वागत गरेका छन् ।
                                                   यसरी हुन्छ उपचार
बेनीदेखि ९ किमी टाढाको दुरीमा रहेको तातोपानीमा म्याग्दी नदीको किनारमा जमिनभित्रबाट ४५ देखी ५७ डिग्री सेल्सियस तापक्रम भएको पानी निस्कन्छ । गन्धक र बिरेनुनको गन्ध आउने प्राकृतिक तातोपानीको कुण्डमा शरिरको बाहिरी भाग डुबाएर उपचार गरिन्छ । कुण्डमा डुबेपछि बाही निस्कीएर कम्बल वा बाख्लो कपडा ओढेर पसिना बगाएपछि नजीकै बनाईएका तातोपानीका धारामा नुहाउने गरिन्छ ।

यस कुण्डमा नियमित नुहाउनाले ग्याष्ट्रीक, नसा, बाथरोग, ढाड दुख्ने, छाला सम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनीने, गलगाँड, एसाईतिस लगायतका रोगहरु निको हुने तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयो । ‘‘ यहाँ आएर डुबेर उपचार गरि रोग निको हुने भएपछि विरामी संगै उच्च पदमा रहेका व्यक्तिहरु आउनेक्रम बढेको छ, हामीले यो कुण्डलाई अझै व्यवस्थित बनाउने योजना बनाएका छौँ’’–अध्यक्ष शाक्यले भन्नुभयोे ।

कुण्ड व्यवस्थापन समितिका सचिब कुमार केसीका अनुसार– अहिले कुण्डमा २५० जनाले नियमित रुपमा डुबेर उपचार गर्दै आएका छन् । ‘‘सल्फर र गन्धकको मात्रा रहेकाले यो कुण्डमा स्नान गर्नेहरुको एक जनाको रोग अर्कोमा सर्दैन, उपचारको लागी आउनेहरुको भिडले पालो लगाएर स्नान गर्ने प्र्रवन्ध मिलाएका छौ’’– सचिब केसीले भन्नुभयो । यो कुण्डमा स्नान गरेपछि रोगहरु निको हुने भउपछि मूलुकका विभिन्न स्थानबाट एक हप्तादेखि १५ दिन सम्मको प्याकेजमा कुण्डमा स्नान र डुब्नको लागि आउनेहरुको संख्या प्रत्येक बर्ष बढ्दै गएको छ ।