दाना–खुर्कोट प्रसारण लाइन तिब्र

  • २६ कार्तिक २०७५, सोमबार
  • सन्तोष गौतम
  • 3067 पटक पढिएको


म्याग्दी, २६ कात्तिक । कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको तार तान्न सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत केन्द्रीय ग्रिडमा जोड्नका लागि दाना र खुर्कोटमा सबस्टेशन तथा प्रशारण लाइन निर्माणलाई तिब्रता दिएको हो ।

३९ किलोमिटर दुरीको दाना–खुर्कोट प्रशारण लाइन अन्तरगत निर्माण भएका टावरमा तार तान्ने काम सुरु गरिएको आयोजनाका प्राबिधिक सहायक लक्ष्मण फुयाँलले जानकारी दिए । ‘ मिलनचोक क्षेत्रमा ५०० मिटर तार तानीसकेको छ’ फुयाँलले भने ‘छठ लगत्तै तिप्ल्याङ क्षेत्रमा पनि तार तान्ने तयारी गरेको छ ।’

११४ वटा टावर बनाउनुपर्नेमा हालसम्म ८१ वटा सम्पन्न र ४ वटा निर्माणाधिन अवस्थामा छन् । अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत् सबस्टेशन पनि निर्माण भइरहेको छ । एशियाली विकास बैङ्कको सहयोगमा कालीगण्डकी कोरीडोर प्रसारण लाइन आयोजनाअन्तर्गत सन् २०१६ मा दानादेखि खुर्कोट जोड्ने प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

सबस्टेशनको पूर्वाधार र प्रसारण लाइनको टावर निर्माणसँंगै इलेक्ट्रोनिक उपकरण ढुवानीलाई तिब्रता दिएपनि २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य पुरा नहुने भएको छ । निर्माण अवधि केही समय पछि धकेलीने भएको छ । हालसम्म सत्तरी प्रतिशत भन्दा बढी प्रगती भएको आयोजनाले जनाएको छ ।कालीगण्डकी र आसपासका सहायक नदीहरुमा निर्माणाधीन जलविद्युत् अयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्न सबस्टेशन र प्रसारण लाइन निर्माण गर्न लागिएको कालिगण्डकी कोरीडोर प्रसारण लाइनका आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए ।

‘खुर्कोटदेखि नवलपरासीको बर्दाघाटसम्म दोस्रो चरणमा प्रसारण लाइनको पूर्वाधार बनाउने तयारी भैरहेको छ’ आयोजना प्रमुख घोषले भने ।मुस्ताङमा १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, १०० मेगावाटको निलगिरि र निलगिरि क्यास्केट निर्माणाधीन छन् ।

त्यस्तै रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण शुरु गरेको छ । भने अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, अपर र तल्लो कालिगण्डकी, तिप्ल्याङ कालिगण्डकी आयोजनाले काम सुरु गर्ने तयारी गरेका छन् ।

सन्तोष गौतम