कालोबजारी नियन्त्रणका लागि सरकार सशक्त छ : गृहमन्त्री थापा

  • २६ कार्तिक २०७५, सोमबार
  • 1619 पटक पढिएको

म्याग्दी, २६ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले देशमा कालोबजारी नियन्त्रणका लागि सरकार सशक्त रहेको बताएका छन् । बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै गृहमन्त्री थापाले कालोबजारी, मधिरा र लागुऔषधी न्युनिकरण गर्नका लागि सरकारले पहल गरेको बताए ।


मानवीय लापर्बाहीका कारण हुने क्षति न्यूनीकरणमा सतर्कता अपनाउन स्थानीय सरकारलाई आग्रह गरेका छन् । उनले जथाभावी सडक निर्माण, मापदण्ड पूरा नगरी भवन बनाउनेजस्ता कारणले हुने विपद्बाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन नियमावली परिमार्जन गर्न लागिएको जानकारी दिए । विकास निर्माणसंगै हुने आकस्मिक घटनाहरुलाई सहज गराउन विपदको तयारी जिल्लामा हुनुपर्ने र त्यसलाई क्रियाशिल बनाउनुपर्ने बताए ।


विकासलाई तीव्रता दिन सरकारले सुरक्षा व्यवस्थालाई सशक्त बनाउन विशेष कार्ययोजना बनाउन लागेको उल्लेख गर्दै गृहमन्त्री थापाले मदिरा र लागूऔषध न्यूनीकरणका लागि प्रहरीले स्थानीय तह र समुदायको महत्वपुर्ण भूमिका रहेको भन्दै समन्वय गरेर अभियान शुरु गर्न आग्रह गरेका थिए ।


म्याग्दीको पर्यटन र जलविद्युत् क्षेत्रको प्रचुर सम्भावनालाई समृद्धिमा रूपान्तरणका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री थापाको भनाइ थियो । उनले हिमालै हिमाल भएर पनि म्याग्दी हिमाली जिल्ला घोषणा हुन नसक्दा कर्मचारी आउनै नमान्ने र आएपछि सरुवा भइहाल्ने कारण उत्पन्न कर्मचारी अभावको समस्या समाधानका लागि नीतिगत पहल गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रबाट पहिरो, कटान, दुर्घटनाको अवस्थामा सूचना सङ्कलन, विश्लेषण, खोज, उद्धार र राहतको कामलाई व्यवस्थित गर्न सहज हुने बताए । सूचना प्रविधिको सुविधा उपलब्ध केन्द्रमा जनपद र सशस्त्र प्रहरी तथा प्रशासनबाट चौबीसै घण्टा एकएक जना जनशक्ति खटाइने प्रजिअ अधिकारीले जानकारी दिए ।