देउसीभैलो खेलेर विद्यालयलाई सहयोग

  • २३ कार्तिक २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • 1948 पटक पढिएको

बेनी, २३ कार्तिक । म्याग्दीको ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुले निजी स्रोतका शिक्षकको तलबभत्ताका लागि आर्थिक स्रोत जुटाउन तिहार पर्वको अवसरमा देउसी भैलो खेलेका छन् ।

परम्पराको संरक्षण र मनोरञ्जनका लागि देउसीभैलो खेलेर सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ताका लागि लाखौ रुपैयाँ जुटाएका हुन् । मालिका गाउँपालिका १ खहरेमा रहेको सिद्धार्थ आधारभुत विद्यालयले देउसीभैलो खेलेर दुई लाख पाँच सय सत्तरी रुपैया जुटाएको जनाएको छ ।

कोदालीवाङ, घोर्सी, छिस, रिथेचौर, बाँसबोट, सेउलुङ, अदिभारा, फुलबारी, गर्जरा, थापाचौर र दरवाङमा देउसीभैलो खेल्ने क्रममा पच्चिस हजार रुपैया खर्च र एक लाख ७५ हजार ५७० रुपैया बचत भएको प्रअ मोतीराज गौतमले जानकारी दिनुभयो ।

यसैगरी मंगला गाउँपालिका १ कुहुँका बासिन्दाले देउसीभैलो खेलेर स्थानीय दिपशिखा माविका लागि चार लाख ५५ हजार रुपैया जुटाएका छन् । कुहुँ, तुसारेपानी, काउले र पैयुँपाटामा खेलीएको देउसीभैलोबाट संकलित रकम विद्यालयको भौतिक विस्तार, शैक्षिक गुणस्तर सुधार र निजी स्रोतका शिक्षकको तलबभत्तामा परिचालन गरिने प्रअ नन्दबहादुर खत्रीले बताउनुभयो ।

यस्तै रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेमा रहेको रितुङ माविको सहयोगका लागि शिक्षक, विद्यार्थी र अभिभावकहरुले देउसीभैलो खेलेर पाँच लाख रुपैयाँ संकलन गरेका छन् । निजी स्रोतबाट मावि तह सञ्चालीत विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि संकलित रकम परिचालन गरिने शिक्षक यामप्रसाद विश्वकर्माले बताउनुभयो ।

यसैगरी धवलागिरी गाउँपालिका ७ ताकममा रहेको ताकम माविले पनि तिहार पर्वको अवसरमा आर्थिक संकलनका लागि देउसी भैलोको आयोजना गरेको प्रअ ओमकार पौडेलले बताउनुभयो ।

सन्तोष गौतम