गुर्जाको घरदैलोमा सरकारः १ सय २२ परिवारलाई लालपुर्जा

  • २२ कार्तिक २०७५, बिहीबार
  • धिरन खत्री
  • 3208 पटक पढिएको

म्याग्दी, २२ कात्तिक । धवलागिरि गाउँपालिका–१ गुर्जाका रेशविर विकको परिवारमा खुसीको सिमा छैन् । बर्षौदेखि उपभोग गर्दै आएको जग्गाजमिनको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) विहिन भएको समयमा गाउँमै पुगेर सरकारी टोलीले लालपुर्जा थमाईदिएपछि उनको परिवारमा खुसी छाएको हो ।

कात्तिक १६ र १७ गते जिल्ला प्रशासन कार्यालयले वडा र धवलागिरि गाउँपालिकाको समन्वयमा जिल्ला स्थित सरकारी कार्यालयहरुबाट घुम्ती शिविर मार्फत गुर्जामा सरकारी सेवा उपलब्ध गराईएपछि स्थानीयबासीको लागि सरकार घरदैलोमै पुगेजस्तै अनुभुती दिलाएको छ । ‘बुबाको निधन भएपछि उहाँको नाममा रहेको जग्गा बर्षौदेखि नामसारी गर्न सकेका थिएनौँ, अहिले गाउँमै बुबाको जग्गा अंशबण्डा गरि लालपुर्जा लियौं’’– विकले भने ।

अहिलेसम्म मौखिक रुपमा भोगचलन गरिदै आएको समयमा जग्गा नामसारी गरि लालपुर्जा लिएपछि भने बर्षौदेखिको जग्गाको समस्या हल भएको ६५ बर्षका विकले बताए । विविध कारणले आफ्नो जग्गाको लालपुर्जा नभएको सन्दर्भमा एकिकृत घुम्ती शिविर मार्फत नापी र मालपोत कार्यालयले नक्शांकन सहित जग्गा नामसारी र जग्गाधनी प्रमाणपत्र दिलाएपछि आफुहरुको समय र खर्च दुबैको बचत भएको अर्का सेवाग्राही कर्णबहादुर छन्त्यालले बताए । ‘‘समस्या लिएर सदरमुकाम जानै २ दिन लाग्छ, खर्च उत्तिकै चाहियो, त्यहाँ गएपछि कागजपत्र सबै पु¥याउन मुस्किल पर्छ, अहिले घरदैलोमै सेवा पाईयो, यस्तो अवसर दिने सबै कार्यालय र सरकारलाई धन्यबाद’’–उनले भने ।

गुर्जामा यस पटक सञ्चालन गरिएको घुम्ती शिविरबाट बर्षौदेखिको लालपुर्जा विहिनताको समस्या हल भएको छ । यो शिविरबाट ५ सय बढी सर्वसाधारणले सेवा लिएका छन् । घुम्ती शिविरको केही दिन अघि देखि नै जिल्ला मालपोत र नापी कार्यालयका प्रमुख सहितको टोली खटिएर जग्गाको नक्सांकन र बास्तविकता पहिचान गरि आबश्यक कागजी प्रकृया पुरा गरेपछि शिविरबाटै लालपुर्जा वितरण गरिएको हो ।

‘‘गुर्जाबासी बल्न बास्तविक भुमिपती बन्ने अबसर पाए, पुस्तौँदेखिको जग्गाको लालपुर्जा नहुँदाको समस्या हल भएपछि सर्वसाधारणलाई ठुलो राहत मिलेको छ’’–गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले भने । उनका अनुसार, कुल २६० घरधुरीको बसोबास रहेको गुर्जामा ५० देखि ६० घरधुरी बाहेक अन्यको आफ्नो घर, पुस्तौँ देखि उपभोग गर्दै आएको जग्गा, जमिनको लालपुर्जा थिएन् ।

भौगोलिक विकटता, जग्गाको अबमुल्यन हुनु र लालपुर्जा बनाउन सदरमुकाम जादाँ आउँदा नै ठुलो खर्च हुने भएकाले गुर्जाबासी अहिलेसम्म लालपुर्जा विहिन बनेका थिए । घुम्ती शिविरमा जग्गा सम्बन्धी बर्षौदेखिको समस्या भएका र नागरिकता लिने सेवाग्राही बढी लाभाविन्त बनेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । शिविरमा नापी कार्यालयकले १ सय ५० परिवारलाई जग्गाको कित्ताकाट गरेर सेवा दिएको थियो । पाँच दिन सम्म खटेको मालपोत कार्यलयका अधिकृत सहिट खटिएको टोलीले नामसारी २२, लिखतपारित ४२, फोटोटास १५, संसोधन २७, श्रेस्ता कायम १६ जना गरि १२२ जनालाई जग्गा लालपुर्जा सम्बन्धी सेवा दिएको थियो ।

सदरमुकामबाट २६ कोष टाढा रहेको गुर्जामा वर्षौ देखि नागरिकता, मालपोत, नामसारी र जग्गाधनी पूर्जा लगायतका सरकारी सेवाबाट गुर्जालीहरु बञ्चित भएका थिए । एकिकृत घुम्ती शिविरबाट लालपुर्जा, नागरिकता, अपांगता परिचयपत्र, स्वास्थ्य परिक्षण लगायतको सेवा पाएपछि गुर्जालीलाई १० हजार भन्दा बढी रकम बोकेर बेनी आएर सो सेवा लिनुपर्ने बाध्यता हटेको स्थानीय अगुवा गुनराम छन्त्यालले बताए ।

दुई दिनसम्म सञ्चालन भएको शिविरबाट ८६ जनालाई नागरिकता, ९ जनालाई अपांगता परिचयपत्र वितरण गरिएका थियो । भने निःशुल्क स्वास्थ्य शिविरबाट १३१ जना लाभान्वित भएका छन । ६६ जनाले फोटो सहितको मतदाता नामावली संकलन गराएका छन् ।

शिविरमा ७३ बर्षिय उदी छन्त्याललाई नागरिकता उपलब्ध गराईएको थियो ६१ बर्षिय खरिलाटी विकले पहिलो पटक नागरिकता र अपांगता परिचय पत्र पाएकी छिन् । बोल्न नसक्ने उनलाई आफन्तले शिविर सम्म ल्याएर नागरिकता र परिचयपत्र लिएका हुन् । सदरमुकाम बेनी पुग्न नसकेर वर्षौ देखि नागरिकता र जग्गाधनी पूर्जाबाट बञ्चित नागरिकहरुलाई घरदैलोमै पुगेर सरकारी सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिवीरको आयोजना गरिएको प्रजिअ अधिकारीले बताए ।

आर्थिक रुपमा कमजोर परिवार र वृद्धवृद्धाहरु दुइदिनको पैदल हिडेर सदरमुकाम जान नसक्दा सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सुविधाबाट बञ्चित भएकाहरुलाई राहत मिलेको वडा अध्यक्ष छन्त्यालले बताए । शिवीरमा पुगेका सांसद भुपेन्द्र थापाले संघियताको मर्मअनुरुपको सेवाले गुर्जाबासीलाई राहत पुगेको बताउँदै दुर्गम क्षेत्र सरकारको प्राथमिकतामा पर्ने उल्लेख गरे । जिल्ला समन्वय समितिका प्रमख देवेन्द्रबहादुर केसीले सरकारी सेवाबाट बञ्चित दुर्गममा वसोवास गर्ने नागरिकहरुलाई सरकारी सेवा उपलब्ध गराउन शिवीरले सहयोग पुगेको बताए । सो अवसरमा नेपाल प्रहरीको टोलीले विद्यार्थीहरुलाई जनचेतनामुलक कार्यक्रम गरेको थियो ।

लुलाङमा साढे दुई सय लाभान्वित

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङमा आइतबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट करीब २५० सर्वसाधारण लाभान्वित भएका छन् । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आएर सेवा लिन नसकेका बासिन्दालाई लक्षित गरेर गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर सञ्चालन भएको हो । शिविरमा नागरिकता वितरण, स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्रका लागि सिफारिशलगायतका सेवा दिइएका सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले जानकारी दिइन ।

शिविरमा ९० जनालाई नागरिकता वितरण गरिएको छ । ७६ वर्षीया डिलमती पाईजालाई नागरिकता प्रदान गरेर शिविरको शुभारम्भ गरिएको थियो । ६७ वर्षको उमेरमा नागरिकता लिएका बलवीर रसाइलीले गाउँमै सेवा पाउँदा समय र सदरमुकाम पुग्दा हुने खर्चको बचत भएको बताए । सोही शिविरका क्रममा महिला तथा बालबालिका कार्यालयको टोलीले ११ जनालाई अपाङ्गता परिचयपत्रका लागि सिफारिश गरेको छ । बेनी अस्पतालका चिकित्सक डा विराट शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले १सय जनाभन्दा बढीलाई स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l