बेनी नगरपालिकाको फाेहोर सडकमै : पर्यटक र यात्रुलाई सकस (फोटो कथा)

  • २१ कार्तिक २०७५, बुधबार
  • 1890 पटक पढिएको

 

बेनी २१ कात्तिक । म्याग्दी भ्रमण बर्ष २०७५ मनाईरहेको बेला बेनी–गलेश्वर सडक खण्ड अन्र्तगत बेनपा–६ रातो पहिरोमा सडकमै फालिएको फोहोरले भने पर्यटक र यात्रुहरुलाई सकस भएको छ । बेनी बजार आसपासको फोहोर व्यवस्थापन गर्दै आएको बेनी नगरपालिकाले रातोपहिरो स्थित कालिगण्डकी नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको छ । पुरानो ठाउँमा व्यवस्थित फोहोर व्यवस्थापन केन्द्रको पूर्वाधार निर्माणधिन अवस्थामा रहेपनि अहिले अस्थायी रुपमा सोही ठाउँकै छेउमा सडकमै फोहोरको थुप्रो हुने गरि फाल्न थालिएपछि समस्या भएको हो ।

फोहोर व्यवस्थापन गर्ने कर्मचारीहरुको लापरबाही र नगरपालिकाका जनप्रनिधिहरुको उदासिनताको कारण यतिबेला बेनी–गलेश्वर सडक हुँदै आवत जावत गर्ने सर्वसाधारण र पर्यटकहरुले फोहोरको दुर्गन्धको सामाना गर्नुपर्ने बाध्यता रहेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्र बहादुर केसीले यस क्षेत्रमा आउने धर्वावलम्बी तथा पर्यटकहरुले समेत मन्दिरको प्रवेशद्धारकै नजीक फोहोरको थुप्रो राख्नु गलत रहेको भन्दै गुनासो गर्न थालेपछि आफुले नगरपालिकामा पटक पटक फोहोर व्यवस्थापन गर्न अनुरोध गरेको बताउनुभयो ।

उहाँले नगरपालिकाले तत्कालै अहिले अव्यवस्थित तरिकारले फाल्दै आएको फोहोरको सहि व्यवस्थापन नगरे यस क्षेत्रकै बारेमा नकरात्मक सन्देश प्रवाह हुनेतर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो । यता बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले फोहोरलाई व्यवस्थित बनाउन रातोपहिरोमा पूर्वाधार निर्माणको काम जारी रहेको र अहिले छोटो अवधिको लागि फोहोर फाल्दै आईएको ठाउँमा समेत सडकमा फोहोर नदेखिने गरि व्यवस्थापन गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिईएको प्रतिकृया दिनुभयो । यता गलेश्वर निवासी नेकपाका युवा नेता दिपक कार्की लगायतका युवाहरुले समेत निरन्तर रुपमा सडकमा फालिँदै आईएको फोहोरको व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानकर्षण गराएँदै आएका छन् ।