तिहारको सुरुवातसंगै म्याग्दीमा देउसी भैलोको रौनक

  • २१ कार्तिक २०७५, बुधबार
  • 3073 पटक पढिएको

म्याग्दी, २१ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएसँगै म्याग्दीको शहरदेखि गाउँबस्ती सम्म देउसी भैलोको रौनक बढेको छ । तिहारको अवसरमा परम्परागत संस्कृतिको संरक्षण र निरन्तरता संगै विभिन्न उदेश्यहरु राखेर यतिशेला बेनीसंगै ग्रामीण भेगसम्म पनि देउसी भैलोले रौनक छाएको हो । म्याग्दीमा सामुदायिक विद्यालयहरुले विद्यालयको हसयोगार्थ देउसी भैलो खेलेका छन भने विभिन्न सामाजिक संघ संस्था, क्लब, आमा समहु लगायतले समेत सामाजिक उदेश्य लिएर आर्थिक संकलन गर्ने उदेश्यल लिएर देउसी भैलो खेलेका छन् ।

यतिबेला देशभित्र मात्रै नभएर विदेशमा समेत देउसी भैलो खेल्ने क्रम बढेको छ । जापानमा रहेका म्याग्देलीहरुले देउसी भैलो खेलेर जिल्लाको अन्नपूर्ण र रघुगंगा गाउँपालिमामा बाढीबाट बगाएका दुई विद्यालयको सहयोगार्थ आर्थिक संकलन गरेका छन् । परम्परागत समाजमा मनोरञ्जनका लागि खेलिने देउसी भैलो पछिल्लो समय सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउने प्रभावकारी माध्यम बनेको छ ।

परम्परागत कला र संस्कृतिको संरक्षण सँगै सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउने, अक्षयकोष बनाउने, धार्मिक स्थलको प्रचारप्रसार गर्ने, सामुदायिक भवन निर्माण गर्ने लगायतका उद्देश्य राखेर देउसी भैलोको आयोजना गरिएको छ । बेनीको शिवालय मन्दिर संरक्षण समितिले सात सय वर्ष पुरानो बरको रुखको गजुर भएको शिवालय मन्दिरको प्रचारप्रसार र म्याग्दी भ्रमण वर्षलाई सघाउने उद्देश्य राखेर देउसीभैलो सुरु गरेको अध्यक्ष बिक्रम श्रेष्ठले जानकारी दिए ।

बेनीमा म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले पनि कलासंस्कृतिको संरक्षणसँगै कोष स्थापना गर्ने उद्देश्यले बेनीमा देउसीभैलो सुरु गरेको छ । जलेश्वर सामुदायिक वन उपभोक्ता समूहले भवन निर्माणका लागि आयस्रोत जुटाउने उद्देश्यले देउसीभैलो खेलेको छ । नविन आनन्दयोग केन्द्रले योगाश्रम भवन निर्माणमा आर्थिक संकलन गर्ने उदेश्यले देउसी भैलो सुरु गरेको छ ।  विभिन्न संघ संस्था, आमा समूह, युवा कल्व देखि बालबालीकाहरु समूह बनाएर देउसीभैलो खेल्न थालेपछि गाउँशहर गुञ्जायस भएको छ ।

परम्परागत देखि आधुनिक कला संस्कृतीलाई समावेश गरेर देउसी भैलो खेलीएको छ । थाली, कौरा, सिरफुले, सालैजो जस्ता मौलीक गित तथा नृत्य समावेश गरेर देउसी भैलो खेलेका छन् । देउसी भैलोमा पछिल्लो समय आनुनिकीकरणको प्रभाव बढेको पाइएको छ । विशेष गरी युवायुवतीहरुको देउसी भैलोमा मौलिकपन हराउँदै जाँदा देउसी भैलोको मर्म नै मेटिने खतरा बढेको बुढापाकाको चिन्ता छ ।

देउसी भैलोमा आधुनिकीकरणको प्रभाव बढ्नु स्वाभाविक रहेपनि देउसी भैलोको खास महत्व र मर्मलाई भने हराउन दिन नहुने सर्वसाधारणले बताएका छन् । तिहारको समयमा बालबालिकादेखि किशोरकिशोरी, युवायुवतीहरु सामूहिक रुपमा देउसी भैलो गाउँदै नाच्दै आशिष दिने र घरधनीले दिने दान रकम लिने चलन छ । धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस’ भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको विश्वास गरिन्छ ।